Logo

विविध

मन्त्री सतपालजी महाराजद्वारा बाढीपीडितका लागि सहयोग



काठमाडौं ।भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री एवं मानव धर्मका प्रणेता सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन्।

महाराजले शुक्रबार दिल्लीस्थित नेपाली राजदूतावास पुगेर कार्यवाहक राजदूत डा. सुरेन्द्र थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन्। सहयोग रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा जम्मा गरिने बताइएको छ।

गत भदौ १० गते रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीप्रति महाराजले त्यसयता दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताको पक्षमा आफूहरू उभिएको बताएका थिए।

उनले उत्तराखण्ड तथा भारत सरकार नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको जनाउँदै विपद्को समयमा संयमित रहन र पीडितप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेका थिए।

यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीको उपस्थितिमा बाढीमा ज्यान गुमाएकाहरूको स्मरणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगप्रति नेपाली पक्षले आभार व्यक्त गरेको छ।

 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार १८:४४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।