काठमाडौं । सेन्चुरी ग्रुपका अध्यक्ष मोती दुगडले रसुवा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गर्दै अहिलेको विपद्लाई राजनीतिक बहसभन्दा माथि उठेर मानवताको दृष्टिकोणबाट हेर्न सबैलाई आग्रह गरेका छन् । पूर्व मन्त्री समेत रहेका दुगडले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ नगद र ५० लाख रुपैयाँ बराबरको खाद्य सामग्री तथा अन्य राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरणपछि सञ्चारकर्मीसँग बोल्दै उनले रसुवामा आएको विपत्तिलाई नेपालको पछिल्लो समयकै सबैभन्दा भयावह र पीडादायी घटनामध्ये एक भएको बताए ।
उनले बाढी प्रभावित क्षेत्रका नागरिकले भोगिरहेको पीडाको कल्पना गर्नसमेत कठिन रहेको उल्लेख गर्दै धेरैले ज्यान गुमाएको, कैयौं परिवार घरबारविहीन बनेको तथा खानासमेत नपाएको अवस्था अत्यन्तै दुःखद भएको बताए । ‘यस्तो बेला हामी सबै नागरिकको कर्तव्य भनेको आफ्नो क्षमता अनुसार सहयोग गर्नु हो, उनले भने, ‘सहयोग ठूलो वा सानो भन्ने हुँदैन, संकटमा परेका मानिसको जीवन बचाउन गरिएको प्रत्येक प्रयास महत्वपूर्ण हुन्छ ।’
दुगडले सेन्चुरी ग्रुपले तत्काल राहतस्वरूप १ करोड १ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको जानकारी दिँदै आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । आफू पनि छिट्टै बाढी प्रभावित क्षेत्रमा पुगेर वास्तविक अवस्था बुझ्ने र त्यहाँ आवश्यक पर्ने आर्थिक, सामाजिक तथा मानवीय सहयोगका थप कार्यक्रम अघि बढाउने तयारी रहेको उनले बताए ।
उनले विशेषगरी अभिभावक गुमाएका साना बालबालिकाप्रति गहिरो चिन्ता व्यक्त गरे । दुई, चार, छ र आठ वर्ष उमेरका बालबालिकाले बाबुआमा गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत बनाएको उल्लेख गर्दै उनीहरूको भविष्य सुरक्षित बनाउन राज्य, निजी क्षेत्र र समाज सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
दुगडले विपद् व्यवस्थापनमा नेपाल सरकारले प्रभावकारी समन्वय गरिरहेको भन्दै सरकारको प्रयासको प्रशंसा गरे । उनका अनुसार नेपाली नागरिक, उद्योगी-व्यवसायी, सामाजिक संघसंस्था तथा सञ्चारमाध्यमले पनि सकारात्मक भूमिका निर्वाह गरिरहेका छन् । ‘अहिलेसम्म मैले देख्दा सरकारको समन्वय राम्रो छ। पत्रकारहरूले पनि जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गरिरहेका छन्। अनावश्यक अफवाह फैलाउने, डर सिर्जना गर्ने वा भ्रष्टाचारका घटना देखिएका छैनन्,’ उनले भने ।
उनले यस्तो संकटको घडीमा राजनीतिक पूर्वाग्रह, आरोप-प्रत्यारोप र विभाजनका विषयमा अल्झिन नहुने धारणा राखे । सम्पूर्ण नेपाली एकजुट भएर विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ
दुगडले नेपालले यसअघि पनि धेरै ठूला प्राकृतिक विपद् पार गरेको स्मरण गराउँदै अहिलेको संकटबाट पनि एकताकै बलमा बाहिर निस्कने विश्वास व्यक्त गरे। ‘हामीले विगतका कठिन संकट पार गरेका छौं । अहिले पनि सबै नेपाली एकजुट भए यो विपत्ति पार गर्न सक्छौं,’ उनले भने ।
उनले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग आइरहेको भन्दै त्यसको प्रशंसा गरे । देशभित्र मात्र नभई विदेशमा रहेका नेपाली र विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा मित्रराष्ट्रहरूले देखाएको ऐक्यबद्धता अत्यन्तै सराहनीय रहेको उनको भनाइ छ ।
सहयोग केवल आर्थिक मात्रै नहुने उल्लेख गर्दै उनले स्वयंसेवा, राहत वितरण, पीडितको मनोबल बढाउनेदेखि लिएर मानवीय साथसम्म सबै प्रकारका सहयोगको महत्व रहेको बताए । ‘हामी सबै एउटै ईश्वरका सन्तान हौं। चिनजान होस् वा नहोस्, संकटमा परेका सबै हाम्रा आफ्नै दाजुभाइ, दिदीबहिनी हुन्,’ उनले भने, ‘देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीले सहयोगको भावना अझै विस्तार गरौं । संकटमा परेकालाई साथ दिनुभन्दा ठूलो मानवता अरू केही हुन सक्दैन ।’
उनले सबैलाई आफूले सकेको सहयोग गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न आग्रह गर्दै अहिलेको आवश्यकता राजनीति होइन, मानवता र राष्ट्रिय एकता भएको बताए ।





















प्रतिक्रिया