Logo

प्रमुख समाचार

बालेनलाई गगनको सुझाव– महासभामा जानुअघि विज्ञको रिपोर्ट हेर्नुस्, सचिवालयको मात्र भर नपर्नुस्



काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति थापाले सचिवालयको मात्र भर नपरी विज्ञहरु र संस्थाहरुको रिपोर्ट अध्ययन गर्न सुझाव दिए ।

महासभालाई प्रभाव गर्न सक्ने नेपाली विदेशमा रहेका उल्लेख गर्दै उनले नेपालकै विश्वविद्यालयसहित विभिन्न संस्थाहरुलेसमेत सशक्त रुपमा काम गरिरहेकाले ती संस्थासँग छलफल गर्न अनुरोध गरे। ‘योपटक किन हाम्रो क्लेम ठीक छ भन्ने सन्दर्भमा साइन्टिफिक स्टडीसहित जानुपर्छ,’ थापाले भने, ‘तपाइँ जानुभन्दा पहिला यसअघिका सरकारले के के गरेका थिए भन्ने कुरा एकपटक पल्टाएर हेर्नुस्। विश्वविद्यालयलगायत नेपालका संस्थाहरुको अध्ययनलाई पनि टेबलमा ल्याउनुस्। विज्ञहरु हुनुहुन्छ, केवल आफ्नो सचिवालयको मान्छेको मात्र भर नपर्नुस्।’

थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद नेपालले भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए ।

‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ,’ सभापति थापाले बैठकमा भने, ‘नेपालले हानि र नोक्सानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ ।’

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार १६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।