सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरमा घरहरू एक अर्कासँग जोडिएर बनेका छन् । माटो र ढुङ्गाले निर्माण गरिएका घरका समथर छतमा सुकाइएका अन्न, पहाडका पाखामा फैलिएको बस्ती र एउटै संरचनामा आवास, पशुपालन तथा कृषि उपजको व्यवस्थापन गर्ने चलनले यहाँको मौलिक जीवनशैली झल्काउँछ ।
अदानचुली गाउँपालिकाको प्रशासनिक केन्द्रसमेत रहेको श्रीनगरमा घरको भुइँतला पशुचौपाया राख्न, माथिल्लो तला मानिस बस्न र छत अन्न सुकाउन तथा भण्डारण गर्न प्रयोग गरिन्छ । घरहरू नजिकनजिक जोडिएर बनेकाले कतिपय घरका छत अर्को घरको आँगनजस्तै देखिन्छन् । एउटा घरको छतबाट अर्को घरको छतमा पुग्न सकिने गरी बनेका संरचनाले यहाँको बस्तीलाई विशिष्ट बनाएको छ ।
यो शैली अदानचुलीमा मात्रै सीमित छैन । हुम्लाकै सिमकोट गाउँपालिका–१ र २ मा पर्ने ठेहे गाउँमा पनि ढुङ्गा र माटोले बनेका घर एक अर्कासँग जोडिएर रहेका छन् । त्यहाँ कतिपय घरमा साझा पर्खाल छन् भने लामो दूरीसम्म छतैछतबाट आवतजावत गर्न सकिने संरचना रहेको छ । स्थानीय धार्मिक विश्वास र परम्पराले पनि बस्तीको पुरानो स्वरूप कायम राख्न भूमिका खेलेको त्यहाँका बासिन्दाले बताएका छन् ।
हिमाली क्षेत्रको परम्परागत वास्तुकलाबारे भएका अध्ययनले डोल्पाका माथिल्ला बस्ती र मुस्ताङका गाउँमा पनि स्थानीय भूगोल, चिसो हावापानी र उपलब्ध निर्माण सामग्रीअनुसार घर बनाउने शैली विकसित भएको देखाउँछन् । यद्यपि सबै ठाउँमा घर जोडेर बनाउने कारण र संरचना एउटै छैनन् ।
भूगोलअनुसार विकसित वास्तुकला
हिमाली जिल्लामा समथर जमिन सीमित हुनु, भिरालो भूभाग र कठोर चिसोले घर निर्माणको शैली निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । स्थानीय स्तरमा उपलब्ध ढुङ्गा, माटो र काठ प्रयोग गरेर निर्माण गरिएका घरले उपलब्ध स्रोतको उपयोग गर्दै जीवनयापन सहज बनाउने परम्परागत सीपलाई देखाएको अदानचुलीका स्थानीयवासी कालिबहादुर थापाले बताए ।
डोल्पामा समेत घरमा बाक्ला माटो र ढुङ्गाका भित्ता तथा समथर माटाका छत पाइन्छन् । छतलाई कृषि उपज सुकाउन, पशुका लागि घाँस र जाडोमा चाहिने दाउरा राख्न प्रयोग गरिन्छ । बाक्लो माटोले घरभित्रको तापक्रम कायम राख्न पनि मद्दत गर्छ । तर, हिमपातका बेला छतमा हिउँ थुप्रिँदा संरचनामा भार पर्ने जोखिमसमेत रहन्छ ।
परम्परागत घरमा पनि समथर छतको उपयोग अन्न सुकाउन, दाउरा राख्न र घाम ताप्न गरिन्छ । हिमाली क्षेत्रका घरमा भुइँतलामा पशु राख्ने र माथिल्लो तलामा मानिस बस्ने चलनले पनि उपलब्ध ठाउँको उपयोग र चिसोबाट जोगिने स्थानीय उपायलाई झल्काउँछ । यसरी घरको बनावट केवल बसोबासका लागि बनाइएको संरचना मात्रै होइन । यो स्थानीय भूगोल, कृषि, पशुपालन, मौसम र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको निर्माण सीपसँग जोडिएको जीवनपद्धति पनि हो ।
एउटै घरमा मानिस र पशु, सरसफाइमा चुनौती
श्रीनगरमा पुस्तौँदेखि चल्दै आएको आवास शैलीले स्थानीय जीवनलाई सहज बनाए पनि अहिले सरसफाइ र पशु व्यवस्थापनमा चुनौती थपेको छ । स्थानीय मनरुप परियारका अनुसार यहाँका घर परम्परागत चलनअनुसार निर्माण हुँदै आएका हुन् । खेतीपातीबाट उत्पादित अन्न सुकाउन र राख्न छत उपयोगी हुने गरेको छ भने भुइँतलामा पशुचौपाया राख्ने चलन छ । स्थानीय रामबहादुर महतराका अनुसार पशुचौपायाका लागि छुट्टै गोठ नहुँदा घरको सरसफाइ र दैनिक व्यवस्थापनमा समस्या हुने गरेको छ । कालिबहादुर नेपाली पनि पशु व्यवस्थापनका लागि छुट्टै गोठको व्यवस्था नहुँदा कठिनाइ हुने बताउँछन् ।
परम्परागत घरको बनावट र आधुनिक आवासको आवश्यकताबिच सन्तुलन कायम गर्नुपर्ने अवस्था देखिएको छ । घरभित्र पर्याप्त हावा र प्रकाशको व्यवस्था, फोहोर व्यवस्थापन, पशुचौपायाका लागि छुट्टै स्थान र सुरक्षित संरचना अहिलेका महत्त्वपूर्ण आवश्यकता हुन् ।
हुम्लाको ठेहे गाउँमा पनि घरहरू अत्यन्त नजिकनजिक जोडिएकाले खानेपानी, ढल निकास र फोहोर व्यवस्थापनमा समस्या रहँदै आएको छ । त्यहाँका बासिन्दाले घरहरू जोडिएर बनेको संरचनाका कारण आगलागी हुँदा आगो फैलिने जोखिमसमेत रहेको बताएका छन् । यसले परम्परागत बस्तीको संरक्षणसँगै आधारभूत पूर्वाधार सुधारको आवश्यकता पनि देखाउँछ ।
मौलिकता जोगाउने कि आवास सुधार्ने रु
श्रीनगरका घर स्थानीय समुदायको इतिहास, सीप र जीवनपद्धतिका चिनारी हुन् । माटो र ढुङ्गाको प्रयोग, समथर छत र एउटै संरचनामा आवास, पशुपालन तथा कृषि उपजको व्यवस्थापन गर्ने शैली यहाँको मौलिक वास्तुकलाका विशेषता हुन् ।
तर, समयसँगै आवासका आवश्यकता बदलिएका छन् । पशुचौपायाका लागि छुट्टै गोठ, घरभित्र सरसफाइको उचित व्यवस्था र सुरक्षित आवास अहिले आवश्यक बन्दै गएका छन् । परम्परागत घरलाई जस्ताको तस्तै राख्ने वा नयाँ संरचनाले विस्थापित गर्ने भन्नेभन्दा पनि मौलिकता जोगाउँदै स्थानीयका समस्या कसरी समाधान गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ ।
स्थानीयका अनुसार यस्ता घरको व्यवस्थापन, सुधार वा वैकल्पिक आवास निर्माणका लागि ठोस योजना आवश्यक छ । परम्परागत घर सुधार गर्दा स्थानीय सामग्री र निर्माण सीपको प्रयोग, प्राविधिक सहयोग तथा भूगोल अनुकूल सुरक्षित संरचनामा ध्यान दिन सकिन्छ ।
हिमाली बस्तीको संरक्षण पुराना घर जस्ताको तस्तै राख्नुमा मात्रै सीमित हुनु हुँदैन । स्थानीयको जीवन सहज बनाउने सुधार र सांस्कृतिक पहिचान जोगाउने प्रयासलाई सँगसँगै अघि बढाउन आवश्यक छ । श्रीनगरको बस्तीले यही सन्देश दिन्छ । पुर्खाले छाडेको वास्तुकला जोगाउनु र वर्तमान पुस्ताका आवासीय आवश्यकता पूरा गर्नु परस्पर विरोधी विषय होइनन् ।




















प्रतिक्रिया