Logo

अर्थ

वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग



काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) केशव नेपालले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । विपद्को यस कठिन घडीमा सरकारको उद्धार र राहत प्रयासमा टेवा पुर्‍याउने उद्देश्यले वर्ल्डलिंकले यो सहयोग गरेको जनाएको छ ।

बाढी र पहिरोका कारण वर्ल्डलिंकको आफ्नै पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । कम्पनीले करिब ३.५ करोड रूपैयाँ बराबरको प्रत्यक्ष क्षति व्यहोरेको प्रारम्भिक विवरण छ । यस्तो अवस्थामा पनि व्यावसायिक नाफाभन्दा माथि उठेर मानवीय जिम्मेवारी र राष्ट्रप्रतिको दायित्वलाई प्राथमिकता दिँदै आर्थिक सहयोग उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

सहयोग हस्तान्तरणका क्रममा कम्पनीका अधिकारीले भने, ‘देशका नागरिक समस्यामा परेका बेला आफू पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो सहयोग केवल व्यावसायिक गतिविधि मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी हो ।’

विपद्का कारण सडक, विद्युत् र सञ्चार पूर्वाधारमा अवरोध पुगे पनि वर्ल्डलिंकले आफ्ना प्राविधिकहरूलाई तत्काल परिचालन गरी बाढी आएको तीन दिनभित्रै प्रभावित क्षेत्रका नेटवर्कहरू पुनःस्थापना गर्न सफल भएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार १६:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।