काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको चरण लगभग सकिएको भन्दै अब राहत र पुनर्स्थापनाको कामलाई प्राथमिकतामा राख्न पार्टीका जनसंगठनहरूलाई निर्देशन दिएका छन्।
आज जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै पोखरेलले बाढी प्रभावित क्षेत्रमा खटिएका पार्टीका जनसंगठनहरू अब नियमित संगठनात्मक काममा फर्किनुपर्ने बताए। उनले राहत र पुनर्स्थापनाको काम स्थानीय तहको संयोजनमा एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
पोखरेलले भोटेकोशी बाढीले २०७२ सालको भूकम्पभन्दा पनि जटिल अवस्था सिर्जना गरेको उल्लेख गर्दै पुनर्स्थापनाको काम हचुवाका भरमा नभई योजनाबद्ध ढंगले अघि बढाउनुपर्ने बताए।
त्यसका लागि क्षतिको वास्तविक विवरण, लागत अनुमान र आवश्यक स्रोतको सुनिश्चितता गरेर मात्रै पुनर्स्थापनाको योजना बनाउनुपर्ने उनको भनाइ थियो।
उनले एमालेका जनसंगठनका पदाधिकारी तथा सदस्यहरूले प्रभावित क्षेत्रको क्षतिको विवरण संकलन गर्नुका साथै पीडित समुदायसँग प्रत्यक्ष संवाद र परामर्श गरी आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए। वास्तविक पीडामा रहेका समुदायबीच पुगेर उनीहरूको दुःखमा भावनात्मक रूपमा जोडिनसमेत उनले आग्रह गरे।
महासचिव पोखरेलले पार्टी पुनर्निर्माणको काममा समेत सहभागी हुने स्पष्ट पार्दै फिल्डमा प्रत्यक्ष रूपमा खटिन नसक्ने जनसंगठनहरूले पार्टीको कोषमा सहयोग रकम जम्मा गर्नुपर्ने बताए।
बैठकमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको उपस्थिति थियो। जनसंगठन समन्वय संयन्त्र संयोजक विशाल भट्टराईले बाढी प्रभावित क्षेत्रमा भइरहेका गतिविधि, संगठनात्मक गतिविधि तथा राजधानी प्रदेश गठनलगायत विषयमा जानकारी गराएका थिए।
भट्टराईले एमालेका जनसंगठनहरू हालसम्म उद्धार तथा राहतमा केन्द्रित रहेको र अब पुनर्निर्माणको चरणमा प्रवेश गर्नुपर्ने अवस्था रहेको बताए।
















प्रतिक्रिया