काठमाडौं । आज नेपाली साहित्यका युगप्रवर्तक युवाकवि मोतीराम भट्टको जन्मजयन्ती मनाइँदैछ । नेपाली साहित्यमा शृङ्गार रसका प्रणेता तथा बहुआयामिक प्रतिभाका धनी भट्टको योगदानलाई स्मरण गर्दै आज विभिन्न साहित्यिक कार्यक्रमहरू गरि मनाइन्छ ।
राणाकालीन समयमा दरबार हाइस्कुलमा अध्ययन गर्ने अवसर पाएका सीमित गैर–राणा नेपालीहरूमध्ये मोतीराम एक थिए । ६ वर्षको सानो उमेरमै परिवारसँगै भारतको बनारस पुगेका उनले त्यहाँ रहँदा उर्दू साहित्यको गहन अध्ययन गरेका थिए ।
उर्दू भाषामा समेत नाटक लेखनको अनुभव बटुलेका उनले आफ्नो छोटो जीवनकालमै नेपाली भाषा–साहित्यको विकास र विस्तारमा अतुलनीय योगदान पुर्याए ।
नेपाली साहित्यमा प्रथम जीवनीकार, समालोचक तथा गजलका प्रणेता मानिने भट्टमा गहिरो राष्ट्रिय चेतना र नेपालीपनप्रतिको स्वाभिमान झल्कन्थ्यो ।
नेपाली साहित्यको इतिहासमा आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्ट एकअर्काका पर्याय मानिन्छन् । एक साथीको विवाह समारोहमा भानुभक्तका फुटकर कविताहरू सुनेपछि प्रभावित भएका मोतीरामले भानुभक्तका अप्रकाशित कृतिहरूको खोजी र उत्खननमा अथक प्रयास गरेका थिए ।
भानुभक्तको रामायण तथा अन्य फुटकर रचनाहरू संकलन, सम्पादन र प्रकाशन गरी जनसमक्ष ल्याउने श्रेय मोतीरामलाई नै जान्छ । भानुभक्तको पहिलो जीवनीसमेत मोतीरामले नै तयार पारेका थिए ।
अल्पायुमै देहावसान भएका मोतीराम भट्टले नेपाली पत्रकारिता, मुद्रण कला (छापाखाना) र नाट्य क्षेत्रमा पनि जग बसाल्ने काम गरेका थिए ।
















प्रतिक्रिया