Logo

अन्तर्राष्ट्रिय

मोदी र पुटिनबीच भेट: व्यापार, ऊर्जा र रक्षाबारे छलफल



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा दुई नेताबीच व्यापार, ऊर्जा र रक्षा सहकार्यलगायत विषयमा छलफल भएको हो।

पुटिन शनिबारदेखि सुरु हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन्। रुस भारतको महत्वपूर्ण रणनीतिक साझेदार हुनुका साथै भारतको प्रमुख सैन्य आपूर्तिकर्तामध्ये एक हो।

भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तस्बिरमा पुटिन र मोदी नयाँ दिल्लीस्थित सम्मेलन केन्द्रमा हाँस्दै कुराकानी गरिरहेको, एकअर्कालाई धाप मारिरहेको र अँगालो हालिरहेको देखिन्छ।

अमेरिका–इरान द्वन्द्वका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता बढिरहेका बेला भारतले रुससँगको ऊर्जा सहकार्यलाई प्राथमिकता दिँदै आएको छ। युक्रेनमा रुसको युद्धका कारण अमेरिका र अन्य पश्चिमा मुलुकबाट दबाब परे पनि भारतले रुसी कच्चा तेल खरिदलाई निरन्तरता दिइरहेको छ।

पुटिन यसअघि सन् २०२५ डिसेम्बरमा भारत भ्रमणमा आएका थिए। त्यस्तै, यही महिनाको सुरुआतमा किर्गिस्तानको बिस्केकमा भएको शाङ्घाई सहयोग संगठन (एससीओ) को बैठकका क्रममा पनि मोदी र पुटिनबीच भेटवार्ता भएको थियो। उक्त भेटमा मोदीले पुटिनलाई ‘अनन्त युद्धबाट युद्धको अन्त्यतिर अघि बढ्न’ आग्रह गरेका थिए।

मध्यपूर्वमा युद्ध सुरु भएपछि मार्चमा भारतीय रिफाइनरीहरूले रुसबाट कच्चा तेलको आयात झण्डै दोब्बर बनाएका थिए। अमेरिकी प्रतिबन्धमा दिइएको अस्थायी छुटले पनि रुसी तेल आयात बढाउन भारतलाई सहज बनाएको थियो।

व्यापारिक सूचना कम्पनी केप्लरका अनुसार जुनमा भारतले रुसबाट दैनिक २७ लाख १० हजार ब्यारेल कच्चा तेल आयात गरेको थियो। जुलाईमा आयात बढेर दैनिक २८ लाख १० हजार ब्यारेल पुगेको थियो। अगस्टमा भने आयात घटेर दैनिक २० लाख ७० हजार ब्यारेलमा झरेको थियो। यद्यपि, यो मात्रा अझै उल्लेखनीय रहेको केप्लरको तथ्यांकले देखाउँछ।

भारतीय सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०२५/२६ मा भारत र रुसबीचको वस्तु व्यापार ५९.९ अर्ब अमेरिकी डलर पुगेको थियो। उक्त अवधिमा भारतले रुसतर्फ ४.४९ अर्ब डलर बराबरका वस्तु निर्यात गरेको थियो भने रुसबाट ५५.३७ अर्ब डलरको आयात गरेको थियो।

 

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार २१:४२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।