Logo

प्रमुख समाचार

अस्कर अवार्डमा नेपालबाट ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ छनोट



काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ ।

द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गर्दै नेपालबाट सिफारिस गरेको हो ।

९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)मा यस वर्ष दुई नेपाली कथानक चलचित्रहरू ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ले आवेदन दिएका थिए । प्राप्त भएका दुईमध्ये ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको हो ।

“प्राप्त दुवै चलचित्रहरूको मूल्यांकन गरी एकेडेमीका मापदण्ड अनुरूप उच्च स्तरीय एवं उत्कृष्ट एक चलचित्र सिफारिस गर्नुपर्ने भएकोले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन पश्चात् उक्त अवार्डमा नेपालको तर्फबाट प्रतियोगीका रूपमा चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई छनोट गरिएको छ,” समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्स फिम्स फेस्टिभलमा जुरी अवार्ड जितेको ‘एलिफेन्ट्स इन द फग’ गत शुक्रबारबाट घरेलु बक्सअफिसमा प्रदर्शनरत छ ।

जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ, आकांक्षा कार्कीलगायतको अभिनय छ ।

निर्देशक अविनास विक्रम शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।

यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् ।

चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।

अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १२:४६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।