Logo

अर्थ

रसुवागढी–तातोपानी बन्द हुँदा कोरलानाकाबाट उठ्यो १५ दिनमै १ अर्ब ७८ करोड राजस्व



मुस्ताङ ।  रसुवागढी–केरुङ र तातोपानी नाका बाढीपहिरोका कारण बन्द भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका प्रमुख वैकल्पिक मार्ग बनेको छ।

नाका सञ्चालनमा आएपछि उत्तरी मुस्ताङको न्हेचुङ भन्सार कार्यालयमा चिनियाँ मालवस्तु र विद्युतीय सवारीसाधनको आयात बढेको छ।

भदौ १० देखि २५ गतेसम्म १५ दिनमा कोरला नाका हुँदै आयात भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुडालले बताए। उनका अनुसार पछिल्लो समय दैनिक औसत ३० करोड रुपैयाँ हाराहारी राजस्व संकलन भइरहेको छ।

शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको थियो। भदौ १० देखि २५ गतेसम्म ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधन कोरला नाका हुँदै नेपाल भित्रिएका छन्।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाकाबाट भित्रिएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। भदौ ९ गतेसम्म भने १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन मात्रै भित्रिएका थिए।

कोरला नाका यसअघि उपल्लो मुस्ताङका बासिन्दाका लागि वर्षभरि खुला हुँदै आएको थियो। तातोपानी र रसुवागढी नाकामा बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ देखि कोरला नाकालाई वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा सञ्चालनमा ल्याएको थियो।

व्यापारिक गतिविधि बढेसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व संकलन पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा कोरला नाकाबाट भएको निकासी–पैठारीबाट मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

उक्त वर्ष १४ अर्ब ४१ करोड रुपैयाँ बराबरका मालवस्तु आयात भएका थिए भने २० करोड ५० लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।

गत आर्थिक वर्षमा कोरला नाका हुँदै ३ हजार २२३ विद्युतीय सवारीसाधन र १ हजार ८७३ कन्टेनरको भन्सार जाँचपास भएको थियो।

रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप थपिएको छ। आयात–निर्यात बढेसँगै यहाँको सडक, पूर्वाधार र भन्सार व्यवस्थापनमा समेत थप दबाब सिर्जना भएको छ।

 

 

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार १८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।