Logo

शेयर बजार

सरकारले घटायो सेयर कारोबारमा पूँजीगत लाभकर



काठमाडौं ।  सरकारले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले अल्पकालीन र दीर्घकालीन दुवै प्रकृतिको सेयर कारोबारमा लाग्ने करको दर घटाउने निर्णय गरेको हो।

निर्णयअनुसार ३६५ दिन वा सोभन्दा कम अवधिसम्म सेयर स्वामित्वमा राखेर बिक्री गर्दा प्राप्त लाभमा ५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ। त्यस्तै, ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरेर बिक्री गर्दा प्राप्त लाभमा ३.५ प्रतिशत कर कायम गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयमा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्रका सम्बन्धमा प्राकृतिक व्यक्तिका लागि नयाँ करदर लागू हुने उल्लेख छ।

हालसम्म ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गर्ने लगानीकर्ताले नाफामा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गर्नेले १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए।

सरकारको नयाँ निर्णयसँगै दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर ४ प्रतिशत बिन्दुले तथा अल्पकालीन कारोबारमा ५ प्रतिशत बिन्दुले घटेको छ।

मन्त्रिपरिषद्को निर्णय नेपाल राजपत्रमा प्रकाशित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार १९:३१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।