Logo

समाचार

चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ: निर्देशक डा.सिंह



जनकपुर । प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताएका छन् ।

उनले जनताको वौद्धिकस्तर कमजोर हुनुको कारणले नै यस्ता घटनाहरु घट्ने गरेको दाबी गरेका छन् ।

हिजो (बिहीबार) जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा प्रसुती गराउन आएकी महिलाको आफन्तहरुले काउन्सिलिङ गरेका चिकित्सक डा. सरोज साहमाथि हातपात गर्नुका साथै उनको मोबाइल फोन पनि खोसेर लगेका थिए ।

डा. साहको अनुहार, टाउको र हातमा चोट लागेको छ । प्रत्येक अस्पतालको नियम बमोजिम कुनै पनि बिरामीको अपरेशन(शल्यक्रिया) गर्नु अघि एउटा फाराममा हस्ताक्षर गर्नुपर्ने हुन्छ । जसमा यदि कुनै कारणवस विरामीको मृत्यु भयो भने सो को जिम्मेवार अस्पताल वा चिकित्सक नहुने भन्ने उल्लेख हुन्छ ।

सोही फाराममा हस्ताक्षर गर्नु अघि काउन्सिलिङ गरेका डा.साहसँग बिरामीका आफन्तले मौखिक रुपमै दुर्व्यवहार गरेका थिए । पछि सुरक्षाकर्मीहरुले सम्झाई बुझाई बिरामीका आफन्तहरुलाई त्यहाँबाट जान भने । केहीबेरमा अन्य बिरामीलाई जाँच गर्न निस्केका डा. साहलाई देख्ने वित्तिकै ती बिरामीका आफन्तहरुले भिडियो बनाउनुका साथै कुटपीट गरेको डा.साहले बताए ।

घटनापछि अन्य चिकित्सकहरुले पनि काम गर्ने वातावरण नरहेको भन्दै काम ठप्प गर्ने चेतावनी दिनुका साथै सामूहिक रुपमा उजूरी दिने बताएका छन् ।

हाल प्रहरीले कुटपीटमा संलग्न दुई जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेका छन् । यसै विषयमा अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।

कुराकानीका क्रममा निर्देशक डा.सिंहले पटक पटक जनकपुरधामसहित देशका विभिन्न अस्पतालहरुमा हुँदै आएको चिकित्सक माथिको आक्रमणका घटनालाई दिर्घकालिन समाधान खोज्नुको विकल्प नरहेको बताए ।

उनले सरकारको नीति माथि प्रश्न उठाएका छन् । स्वास्थ्य मन्त्रालयमात्र नभएर उनले शिक्षा र अर्थ मन्त्रालयलाई मुख्य दोषी रहेको बताए ।

उनले सरकारको मापदण्ड अनुसार अस्पताललाई नर्स, चिकित्सक, सुरक्षाकर्मी र अन्य कर्मचारी उपलब्ध गराउन सरकार आजसम्म चुकेको गुनासो गरे ।

एकातिर सरकारले प्रसुतीगृहमा १२० जना नर्स राख्न भनेर मापदण्ड तयार पार्ने तर दिने बेलामा अस्पतालभरिमै पनि १२० जना नर्सको दरबन्दी नदिने सरकारले यस्तो नीति नियम किन बनाउनु पर्यो भनेर निर्देशक डा. सिंहले प्रश्न गरेका छन् ।

डा. सिंहले शिक्षा मन्त्रालयलाई पनि उत्तिकै दोषी रहेको ठहर गरेका छन् । ‘प्रत्येक बिरामी वा सेवाग्राहीको सोच उग्रहुनु, प्रत्येक कर्मचारीलाई आफ्नो शत्रु सम्झिनु, आगेवमा आउनु, कानुनी उपचार खोज्नुको साटो हातपात गर्नुजस्ता क्रियाकलापले उनीहरुको बौद्धिक स्तरमा कमी रहेको पुष्टि गर्छ,’ डा. सिंहले भने ।

उनले शिक्षित व्यक्तिले कहिले पनि दुर्व्यवहार नगर्ने बताए । डा. सिंहले नीजि अस्पतालमा जाँदा बिरामीसंगै कुरुवाको संख्या पनि तोके भन्दा बढी नजाने तर बिरामीको व्यापक चाप भएको सरकारी अस्पतालमा एउटा बिरामीसंगै आठजनासम्म कुरुवा आएर बिरामीको छेउमै बस्ने गरेको गुनासो गरे ।

चिकित्सकले एक पटक परामर्श गर्नुपर्ने ठाउँमा बिरामीका आठ जना कुरुवाले छुट्टा छुट्टै प्रश्न गर्दा चिकित्सकको पनि समय खेर जाने डा. सिंहले बताए । यसमा सम्पूर्ण दोष सर्वसाधारण जनताको भन्दा पनि शिक्षा प्रणाली र शिक्षा मन्त्रालयको रहेको उनको भनाइ छ ।

त्यस्तै अर्थ मन्त्रालयलाई पनि उत्तिकै दोषी रहेको औंल्याए । आफूहरुले पटकपटक जनशत्ति अभाव रहेको र बिरामीको चाप भने बढी रहेको जानकारी गराउँदै आएतापनि थप जनशक्ति व्यवस्थापनका निम्ति रकम नदिनु, कर्मचारी पदपूर्तिकालागि पहल नगर्नुले मन्त्रालय पनि उत्तिकै दोषी रहेको उनले बताए ।

सुरक्षाकर्मीको आवश्यकता अझै छ कि छैन भन्ने प्रश्नमा डा.सिंह भन्छन,‘प्रत्येक बेड वा डिपार्टमेन्टमा सुरक्षाकर्मी राख्नु सामाधान होइन ।’ उनका अनुसार बिरामी र कुरुवाले स्वयम बुझ्‌नुपर्छ कि मृत्यु कसैको हातमा छैन र कुनै पनि चिकित्सकले आफ्ना बिरामीको मृत्यु होस भनेर चाहँदैन । सुरक्षाकर्मी राखेर पनि के गर्ने, जति बेलासम्म सुरक्षाकर्मी पुग्छ, चिकित्सकले पिटाई खाइसकेको हुन्छ ।

उनले सम्पूर्ण नागरिक समाज, शिक्षा, अर्थ मन्त्रालय, नेपाल सरकार र स्वास्थ्यमन्त्रालयले एउटा बृहत बैठक बसेर यस किसिमका समस्याको दिर्घकालिन समाधान निकाल्नुपर्ने बताए ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार १४:२८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।