काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन नजिकिँदै गर्दा पार्टीका महासमिति सदस्य तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले पार्टीका नेता–कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।
आश्विन ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा तरुण, युवा, महिला तथा अग्रज सबैलाई उत्साहपूर्वक सहभागी हुन उनले अपिल गरेका हुन् ।
गुरुङले पार्टीलाई थप सुदृढ, गतिशील, जनमुखी र समयसापेक्ष बनाउन वडा तहबाटै सक्षम र निष्ठावान नेतृत्व चयन आवश्यक रहेको बताएका छन् । उनका अनुसार वडा अधिवेशन लोकतन्त्रको सुदृढीकरण र पार्टी रूपान्तरणको महत्वपूर्ण आधार हो ।
उनले व्यक्तिगत तथा समूहगत स्वार्थभन्दा माथि उठेर पार्टीको हित र लोकतान्त्रिक मूल्यका पक्षमा एकजुट हुन आग्रह गरेका छन् । स्वस्थ प्रतिस्पर्धा, आपसी सद्भाव र एकताका साथ अधिवेशन सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
तल्लो तहबाट सुरु हुने १५औँ महाधिवेशनले केन्द्रसम्मै सुदृढ, एकताबद्ध र बलियो कांग्रेस निर्माण गर्ने विश्वास व्यक्त गर्दै गुरुङले विधि र विधानअनुसार वडा अधिवेशन सफल बनाउन सबैमा अपिल गरेका छन् ।

















प्रतिक्रिया