Logo

विविध

नारायणीको बाढी बस्तीमा पसेपछि ८ सयभन्दा बढी नागरिकको उद्धार



नवलपरासी  । नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का ८ सयभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीको सतह निरन्तर बढ्दै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा उनीहरूलाई नारायणीवारि ल्याइएको हो। उनीहरूलाई सुस्ता बालिनगरस्थित बीपी माध्यमिक विद्यालयमा राखिएको छ।

सुस्ता–५ मा २१९ घरधुरीमा करिब १ हजार ४ सय ५० जना नागरिक रहेको बताइएको छ। तीमध्ये केही भने बाढीको जोखिम बढेपछि यसअघि नै आफन्तको घरमा गइसकेका थिए।

स्थानान्तरण गरिएका बाढीपीडितलाई उद्योग वाणिज्य महासंघ र नेपाल रेडक्रस सोसाइटी नवलपरासीले राहत सामग्री वितरण सुरु गरेका छन्।

यसैबीच, गण्डक ब्यारेजमा पानीको बहाव ४ लाख ७९ हजार १ सय क्युसेक पुगेको जनाइएको छ। पानीको बहाव बढेसँगै सुस्तालगायत नारायणी आसपासका बस्तीमा बाढीको जोखिम थपिएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आईतवार १९:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।