Logo

विविध

सूचीकरण प्रणालीमा साढे २६ लाख बढी किसान जोडिए, सरकारी सुविधा लिन दर्ता नम्बर अनिवार्य



काठमाडौं।किसान सूचीकरण प्रणालीमा थप तीन लाख किसान दर्ता भएका छन्। यससँगै सूचीकरण भएका किसानको संख्या २६ लाख ७९ हजार पुगेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कृषि क्षेत्रका कार्यक्रमलाई तथ्यांकमा आधारित बनाउन र वास्तविक किसानको पहिचान सुनिश्चित गर्न किसान सूचीकरणलाई प्राथमिकतामा राखिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरण अनिवार्य रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै आएकी छन्।

मन्त्रालयले मातहतका सबै कार्यालय, निकाय तथा आयोजनालाई कृषि कार्यक्रम सञ्चालन गर्दा लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

किसान सूचीकरणमार्फत वास्तविक किसानको पहिचान, तथ्यांकमा आधारित कृषि योजना निर्माण तथा राज्यबाट उपलब्ध हुने सेवा–सुविधामा पारदर्शिता र सुशासन कायम गर्ने उद्देश्य राखिएको मन्त्रालयको भनाइ छ।

सरकारी कृषि कार्यक्रमअन्तर्गत दिइने अनुदान, मल वितरण तथा अन्य कृषि सेवामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्न सूचीकरण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

मन्त्रालयले आगामी दिनमा किसान सूचीकरणलाई कृषि सेवा तथा सुविधासँग थप प्रभावकारी रूपमा जोड्दै प्रणालीलाई व्यवस्थित बनाउने जनाएको छ।

 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार १९:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।