इलाम । इलाममा ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको छ । सूर्योदय नगरपालिका–कन्याममा ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको हो ।

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लागत साझेदारीमा निर्मित चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्र(टी टेस्टिङ सेन्टर)सँगै वृक्षालय सञ्चालनमा ल्याइएको सञ्चालक उत्तम प्रधानको भनाई छ ।

वृक्षालयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चालकहरूले कन्यामलाई केवल घुम्ने पर्यटकीय गन्तव्य नभई चिया, स्थानीय उत्पादन, मौलिक खानपान र नेपाली आतिथ्यको अनुभव गर्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्रका रूपमा निर्माण गरिएको संरचना लामो समयसम्म पूर्णरूपमा उपयोग हुन नसकेको अवस्थामा सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रक्रियामार्फत उत्तम प्रगति निर्माण सेवाले १० वर्षका लागि संरचना भाडामा लिएर सञ्चालन सुरु गरेको जनाइएको छ ।

सम्झौतामा उपलब्ध गराइएका पाँचवटा भवनबाहेक सञ्चालक पक्षले करिब दुई करोड रुपैयाँ थप लगानी गरी आवश्यक संरचना निर्माण तथा सुधार गरेको जनाएको छ ।

वृक्षालयको मुख्य उद्देश्य होटल सञ्चालनमा मात्र सीमित नरहेको सञ्चालक पक्षले स्पष्ट पारेको छ । कन्यामलाई कोशी प्रदेशकै नमुना आतिथ्य केन्द्रका रूपमा विकास गर्दै चियाबारी, चिया उत्पादन, स्थानीय किसानको मेहनत र चियाको स्वादलाई पर्यटकको अनुभवसँग जोड्ने योजना रहेको बताइएको छ ।

इलामको प्रमुख पहिचान चिया भएकाले चियालाई पेय पदार्थका रूपमा मात्र नभई (‘चिया पर्यटन’)को आधारका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । पर्यटकलाई चिया उत्पादनदेखि चिया पिउनेसम्मको अनुभव उपलब्ध गराउने योजना रहेको सञ्चालक प्रधानको भनाई छ ।

पूर्वी नेपालमा स्थापित वृक्षालयले भारतको बिहार, पश्चिम बंगाल, भुटान, बंगलादेश र म्यानमारलगायत क्षेत्रबाट पर्यटक भित्रियाउने लक्ष्य राखेको छ । स्थानीय होमस्टे, होटल तथा अन्य पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै दिगो पर्यटन विकासमा योगदान पुर्‍याउने योजना रहेको जनाइएको छ ।

पर्यटकको इलाम बसाइ लम्ब्याउने उद्देश्यले कम्तीमा चार रात पाँच दिनसम्म पर्यटकलाई इलाममै राख्ने वातावरण निर्माण गर्ने लक्ष्यसमेत रहेको अर्का सञ्चालक सन्तोष कुवरको भनाई छ ।

विश्व पर्यटन बजारको लामो अनुभव बोकेका ४० वर्षभन्दा कम उमेरका चार युवाको सामूहिक लगानी तथा व्यवस्थापनमा वृक्षालय सञ्चालनमा आएको जनाइएको छ । हाल यहाँ करिब २५ जना युवायुवतीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । रोजगारीमा स्थानीय युवालाई प्राथमिकता दिइएको सञ्चालक पक्षले जनाएको छ ।

वृक्षालयका अनुसार नेपालका काठमाडौं, चितवन, लमजुङ, बाँके र इलाममा यसका शाखा सञ्चालनमा छन् । आगामी दिनमा देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

वृक्षालय परिसरमै चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्र र चिया संग्रहालयसमेत सञ्चालनमा रहेको छ । यसको स्वामित्व तथा व्यवस्थापन भने कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको रहेको बताइएको छ ।

सञ्चालक पक्षले कन्यामको प्रकृति, इलामको चिया, कृषि उत्पादन र नेपाली आतिथ्यलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने अभियानमा स्थानीय सरकार, समुदाय, व्यवसायी, पर्यटन क्षेत्र तथा सञ्चारमाध्यमको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको छ ।

सञ्चालकका अनुसार सरसफाइ, सत्कार र स्वादलाई वृक्षालयको मुख्य आधार मानिएको छ । कन्यामलाई घुम्ने ठाउँ मात्र नभई पर्यटकले विशेष अनुभव लिएर फर्किने गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यहाँ निर्माण भएका भवनमा प्रदेश र नगरपालिकाको लगानी भएपनि अन्य लगानी चार जना ब्यवसायी मिलेर गरेका हुन् । उनीहरुले आफ्‌नो लगानी सँगै १० वर्षका लागि १० करोडमा ठेक्का लिएको बताएका छन् ।

चियाको स्वाद, गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ कन्याममा चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र (टी–टेस्टिङ एन्ड प्रोमोसन सेन्टर) बनाउन राज्यले १८ करोडमा भव्य भवन बनाएको थियो ।