Logo

समाचार

बिर्तामोडमा जेई खोप अभियान थपियो, छुटेकालाई सोमबारसम्म अवसर



झापा । जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत बिर्तामोड नगरपालिकामा हालसम्म ४५ हजार नागरिकले खोप लगाएका छन् । लक्षित समूहका केही नागरिक खोपबाट छुटेकाले बिर्तामोड नगरपालिकाले खोप अभियानको समय सोमबारसम्म थप गरेको छ ।

बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेश रिजालका अनुसार नगरपालिकामा ३० वर्षमाथिका करिब ६० हजार नागरिकलाई जेईविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । अभियानअन्तर्गत आज बिहिबार बेलुकासम्म ४४ हजार ५०० जनाले खोप लगाइसकेका छन् ।

‘लक्षित नागरिकमध्ये अझै केही खोपबाट छुट्नुभएको छ । उहाँहरूलाई समेत समेट्ने उद्देश्यले सोमबारसम्म खोप लगाउने व्यवस्था मिलाएका छौँ,’ रिजालले नेपाल न्यूज बैंकलाई बताए ।

बिर्तामोडमा असोज ९ गतेदेखि नगरपालिकाका १० वटै वडामा खोप अभियान सञ्चालन गरिएको थियो । यसका लागि ५६ वटा खोप केन्द्र तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड बजार तथा कामदारको बढी चाप हुने क्षेत्र भएकाले लक्षित समूहका नागरिकलाई खोपको महत्वबारे जानकारी गराउँदै अभियान सञ्चालन गरिएको बताए ।

‘बजार क्षेत्रमा काम गर्ने मजदुर तथा अन्य नागरिक काममा व्यस्त हुने भएकाले सबैलाई तोकिएको समयमा खोप केन्द्रसम्म आउन कठिन हुन सक्छ । त्यसैले छुटेका नागरिकलाई समेत समेट्न प्रचारप्रसारसहित समय थप गरेका छौँ,’ उनले भने ।

उनका अनुसार नगरपालिकाका सबै वडा तथा टोलमा खोपबारे जानकारी गराइएको छ । विशेषगरी दैनिक ज्यालादारी तथा मजदुरी गर्ने नागरिकलाई खोपको पहुँचमा ल्याउन स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ ।

बिर्तामोड–३ की सरस्वती मिश्रले जेईविरुद्धको खोप लगाएपछि आफूमा रोगको जोखिम कम हुनेमा विश्वास भएको बताए ।

‘खोप लगाएपछि काम गर्ने क्रममा जोखिम न्यूनीकरण हुने पनि आत्मविश्वास बढेको छ। सुरुमा खोप लगाउने कि नलगाउने भन्ने द्विविधा थियो, तर अहिले खोप लगाएपछि सुरक्षित भएको महसुस भएको छ,’ उनले भने ।

झापाका १५ वटै स्थानीय तहमा जेईविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

प्रारम्भिक विवरणअनुसार जिल्लामा चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भएको थियो ।

स्वास्थ्य कार्यालयको असोज १३ गतेसम्मको सार्वजनिक विवरणअनुसार झापा जिल्लामा दुई लाख ७० हजार २४६ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन् ।

गत मङ्गलबार सम्ममा मेचीनगरमा ४० हजार ३१३, दमकमा ३५ हजार ६०५, बिर्तामोडमा २८ हजार ६८०, शिवसताक्षीमा २० हजार ७६९, गौरादहमा १९ हजार ६३६, अर्जुनधारामा १८ हजार २९, कनकाईमा १७ हजार ९२८ र भद्रपुरमा १० हजार २०५ जनाले खोप लगाएको बताएको छ ।

त्यसैगरी कमल, झापा, गौरीगञ्ज, बाह्रदशी, हल्दिबारी, कचनकवल र बुद्धशान्ति गाउँपालिकामा पनि अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार झापामा जेई सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर विशेष अभियान सञ्चालन गरिएको हो। जिल्लामा चालु आर्थिक वर्षमा १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

झापाका विभिन्न स्थानीय तहमा अभियानको समय भने फरक–फरक निर्धारण गरिएको थियो। बिर्तामोडमा असोज ९ देखि १४ गतेसम्म अभियान सञ्चालन गर्ने प्रारम्भिक तालिका थियो । बाह्रदशी र बुद्धशान्तिमा असोज १५ गतेसम्म अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको थियो ।

बिर्तामोड नगरपालिकाले भने लक्षित समूहका नागरिक छुट्न नदिन स्थानीय आवश्यकता र अवस्थाअनुसार सोमबारसम्म खोपको अवसर उपलब्ध गराएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार २०:०८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।