Logo

विविध

डीडीसीको सुधार अभियान : किसान भुक्तानीदेखि बजारीकरणसम्म सुधार



काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई दूधको भुक्तानी गर्ने अवधि घटाएर एक महिनाभित्र झारेको जनाएको छ। गत वर्ष यही अवधिमा किसानले दूधको भुक्तानी पाउन करिब ६ महिना कुर्नुपरेको संस्थानको भनाइ छ।

संस्थानले असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य लिएको छ। किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै वित्तीय व्यवस्थापनमा सुधार गरिएको डीडीसीले जनाएको छ।

दूधको गुणस्तर सुधार गर्न फ्याट र एसएनएफको मापदण्डसमेत परिमार्जन गरिएको छ। ७.८ प्रतिशतभन्दा कम एसएनएफ भएको दूधमा सहकारी सञ्चालनबापत दिइने टीएस रकम रोक्ने व्यवस्था गरिएको संस्थानले जनाएको छ। एसएनएफमा दूधको चिल्लो पदार्थबाहेक प्रोटिन, ल्याक्टोज र खनिज पदार्थ पर्छन्।

बजारीकरणतर्फ पनि बिक्री बढेको डीडीसीको दाबी छ। अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा मोहीको बिक्री १३३ प्रतिशत, याक चिजको ५० प्रतिशत र ताजा दूधको बिक्री २१ प्रतिशतले बढेको संस्थानले जनाएको छ।

डीडीसीका अनुसार अहिले दैनिक बिक्री राजस्व करिब ९० लाख रुपैयाँ पुगेको छ। काठमाडौं उपत्यकामा २२ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ। संस्थानले दैनिक बिक्री राजस्व १ करोड २० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ।

यसैबीच, डीडीसीले खाडी मुलुकमा वार्षिक कम्तीमा ५० मेट्रिक टन घ्यू निर्यात गर्ने सम्झौता गरेको जनाएको छ। सम्झौताअनुसार साउनको अन्तिममा ४२० किलो घ्यू निर्यात गरिएको संस्थानले जनाएको छ।

खर्च नियन्त्रणका लागि कम दूध संकलन हुने चिस्यान केन्द्रलाई नजिकका केन्द्रमा गाभ्ने नीति पनि डीडीसीले अघि सारेको छ। सहकारी संघबाट प्रत्यक्ष दूध खरिद गर्ने तथा वित्तीय र प्रशासनिक सुशासनमा जोड दिने योजना संस्थानको छ।

 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार २०:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।