Logo

समाचार

कांग्रेस र सोसलिस्ट इन्टरनेसनलबीच एसिया प्यासिफिक रिजनको बैठक नेपालमा गर्ने सहमति



काठमाडौं । सोसलिस्ट इन्टरनेसनलकी महासचिव चान्त्याल काम्बिवा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाल आएकी छन् ।

महासचिव काम्बिवालाई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका छन् । स्वागतपछि नेपाली कांग्रेस र सोसलिस्ट इन्टरनेसनलबीच आपसी सहकार्य तथा आगामी गतिविधिका विषयमा दुई पक्षीय संवाद भएको पौडेलले बताए ।

उनका अनुसार नेपाली कांग्रेस र सोसलिस्ट इन्टरनेसनल मिलेर नेपालमा एसिया प्यासिफिक रिजनको बैठक छिट्टै आयोजना गर्ने निर्णय भएको छ । उक्त बैठकको समन्वय सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष खगेन्द्र जिसीले गर्ने निर्णय भएको उनले बताए ।

उनले भने, ‘सोसलिस्ट इन्टरनेसनलको महासचिव चान्त्याल नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन काठमाडौं आउनुभएको छ । उहाँ हाम्रो केन्द्रीय कार्यालयमा आउनुभयो । सो क्रममा सोसलिस्ट इन्टरनेसनल र कांग्रेसको सम्बन्धका बारेमा, आगामी दिनमा कांग्रेस र सोसलिस्ट इन्टरनेसनलका गतिविधिहरूलाई सँगसँगै अगाडि लाने बारेमा दुई पक्षीय संवाद गर्यौँ।’

उनले समावेशिता, महिला सशक्तीकरण, जलवायु परिवर्तन र समाजवादसम्बन्धी बहसका विषयमा पनि सोसलिस्ट इन्टरनेसनलसँग सहकार्य गर्ने समझदारी भएको बताए । ‘सोसलिस्ट इन्टरनेसनलसँग समावेशिताको, महिला सशक्तीकरण, क्लाइमेट चेन्ज र समाजवादसम्बन्धी बहस गर्ने विषयमा हामीले आपसी सहकार्य गर्ने गरी थुप्रै समझदारीहरू आज कायम भएको छ,’ उनले भने ।

उनका अनुसार काम्बिवाको नेपाल भ्रमणले नेपाली कांग्रेस र सोसलिस्ट इन्टरनेसनलबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्नेछ ।

यसैबीच, नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहका लागि काम्बिवाले सोसलिस्ट इन्टरनेसनलको तर्फबाट शुभकामना पत्र तथा सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष एवं स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज र महासचिव काम्बिवाको शुभकामना सन्देश लिएर आएकी छन् ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोह कारणवस दुई दिन सरेपछि काम्बिवा नेपालमा बसिरहन नसक्ने अवस्था बनेको पौडेलले बताए । त्यसैले उनले शुभकामना सन्देश पार्टीलाई हस्तान्तरण गरेकी छन् ।

पौडेलले ती शुभकामना सन्देश महाधिवेशनको उद्घाटन समारोहमा वाचन गरी सार्वजनिक गरिने जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार १४:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।