महिला हिँसाको अन्त्य गर्न सरकार मात्र नभई समाजका सम्पूर्ण निकाय जिम्मेवार रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले बताएका छन् ।
अन्तर्राष्ट्रिय महिला हिँसा अन्त्य दिवसको अवसरमा लैङ्गिक हिँसाविरुद्धको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ महासङ्घले आयोजना गरेको कार्यक्रममा महासङ्घले स्थापनाकालदेखि नै महिला र पुरुषबीचको समानतालाई मुख्य प्राथमिकतामा राखेको महासङ्घका उनाले बताए । “सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मात्र नभई समूहका महिला पदाधिकारी समेत समय–समयमा हिँसाको सिकार भएको अवस्था छ, त्यसका विरुद्धमा महासङ्घले सधैं आवाज उठाउने गरेको छ”, उनले भने, “हाम्रा लागि ३६५ दिन नै हिँसाविरुद्धको दिवस हो ।”
अन्तर्राष्ट्रिय रुपमा समेत समानताका दृष्टिकोणले अग्रणी संस्थाका रुपमा परिचित महासङ्घले महिला हिँसा अन्त्यको लागि स्थापनाकालदेखि नै विभिन्न दबाबमूलक काम गर्दै अहिलेको स्थितिसम्म आइपुगेको उनले बताए । सो अवसरमा महाङ्घका सचिव ठाकुर भण्डारीले दिवसका उपलक्ष्यमा सोह्र दिनसम्म महासङ्घका तर्फबाट देशभर विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्ने जानकारी दिए । यो वर्ष कोभिड १९ का कारण भौतिक कार्यक्रम सम्भव नभएकाले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाइने उनले बताए ।
कार्यक्रममा महासङ्घका कार्यकारी निर्देशक डा सीता अर्यालले महासङ्घले गर्ने नियमित गतिविधिमध्ये यो दिवस पनि महत्वपूर्ण रहेको बताए । वन क्षेत्रको व्यवस्थापनमा ग्रामीण महिलाको योगदानः लैङ्गिक हिँसामुक्त वन क्षेत्र हाम्रो अभियान भन्ने कुरालाई पनि महासङ्घले मुख्य प्राथमिकतामा राखेको छ । आजबाट सुरु भएको यो दिवस यही मङ्सिर २५ गते समापन हुनेछ ।
१० मंसिर २०७७, बुधबार १४:४६
0
Shares
प्रतिक्रिया