Logo

अर्थ

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत



काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो ।

बैठकले गत आव २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ र चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ गरी कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँमध्ये चालु आवका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ ।

स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ आठ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको आयोगले जनाएको छ ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा डा देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायत सहभागी थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार १६:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।