Logo

प्रमुख समाचार

बालेन सरकारप्रति प्रचण्डको असन्तुष्टि, भने– ‘गतिविधि रहस्यमय देखियो’



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो ६ महिनाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा सरकारको समग्र कामकारबाहीको समीक्षा गर्दै प्रचण्डले सरकार अपेक्षित गतिमा अघि बढ्न नसकेको बताएका हुन्।

पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रचण्डले प्रधानमन्त्री शाह संसद्प्रति पर्याप्त जवाफदेही नदेखिएको र सरकारका कामकारबाही पारदर्शी हुन नसकेको विषय उठाएका थिए। प्रधानमन्त्रीका पछिल्ला गतिविधि र सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाउँदै उनले सरकारका गतिविधि ‘रहस्यमय’ देखिएको धारणा राखेका थिए।

‘प्रधानमन्त्रीका गतिविधि किन यस्तो देखिएको हो ?’ भन्ने प्रश्नसमेत प्रचण्डले बैठकमा उठाएको दुलालले जानकारी दिए।

सरकारका तर्फबाट भएका कामको समीक्षा गर्दा सबै क्षेत्रमा केही पनि नभएको निष्कर्षमा पुग्न नहुने प्रचण्डको भनाइ थियो। यद्यपि समग्र मूल्यांकन गर्दा सरकार सही दिशा र अपेक्षित गतिमा अघि बढिरहेको नदेखिएको उनले बताएका थिए।

बैठकमा सरकारको कार्यशैलीसँगै संसद्को प्रभावकारिता र जनसरोकारका विषयमा पनि छलफल भएको थियो। सांसदहरूले कानुन निर्माणलाई प्रभावकारी बनाउने तथा संसद्मा जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने विषयमा धारणा राखेका थिए।

बैठकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका काममा पार्टीका सांसदलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णयसमेत गरेको छ। विपद्का समयमा राज्यका निकायसँग समन्वय गरी प्रभावित नागरिकसम्म राहत पुर्‍याउन सांसदहरूले भूमिका खेल्ने जनाइएको छ।

बैठकमा पार्टीको आगामी राजनीतिक भूमिकाबारे पनि छलफल भएको थियो। सरकारका कामकारबाहीमाथि निगरानी बढाउँदै संसद्लाई थप प्रभावकारी बनाउने र जनसरोकारका विषयमा पार्टीको उपस्थिति सशक्त बनाउने विषयमा नेताहरूबीच छलफल भएको बताइएको छ।

 

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार ०८:४६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।