Logo

अर्थ

महँगीको मार फेरि बढ्यो, खाद्य मुद्रास्फीति ६.७७ प्रतिशत



काठमाडौं । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि एक वर्षमै तीव्र रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०२६ को मध्यअगस्टमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.७७ प्रतिशत पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ऋणात्मक २.२८ प्रतिशत थियो। एक वर्षको अवधिमा खाद्य मुद्रास्फीति करिब ९ प्रतिशत बिन्दुले बढेको हो। खाद्य वस्तुको मूल्य बढेसँगै समग्र उपभोक्ता मुद्रास्फीति पनि ५.९६ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ।

अघिल्लो वर्षको तुलनामा गैरखाद्य वस्तु तथा सेवाको मूल्यवृद्धि पनि बढेको छ। यस्तो मुद्रास्फीति ३.९५ प्रतिशतबाट बढेर ५.५२ प्रतिशत पुगेको हो। राष्ट्र बैंकका अनुसार खाद्य समूहभित्र घिउ तथा तेल, फलफूल, मासु तथा माछा र तरकारीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

यी वस्तुको मूल्य बढ्दा दैनिक उपभोगमा निर्भर परिवारको खर्च थप महँगिएको छ। खाद्य वस्तुको मूल्यवृद्धि उच्च हुँदा यसको प्रत्यक्ष असर घरायसी बजेटमा पर्छ। आम्दानीको ठूलो हिस्सा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा खर्च गर्ने परिवारलाई बढ्दो मूल्यवृद्धिले थप दबाबमा पार्ने देखिन्छ।

एक वर्षअघि खाद्य मुद्रास्फीति ऋणात्मक अवस्थामा रहेकामा अहिले ६.७७ प्रतिशत पुगेको तथ्यांकले पछिल्लो समय खाद्य वस्तुको मूल्यवृद्धि तीव्र बनेको देखाएको छ। गैरखाद्य वस्तु तथा सेवाको मूल्यवृद्धिसमेत बढेकाले समग्र उपभोक्ता मूल्यमा पनि त्यसको प्रभाव परेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार ०९:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।