काठमाडौं । नेपाली कांग्रेस १५ औँ महाधिवेशनको उद्घाटनसँगै नेता–कार्यकर्ताको चहलपहल बढेको छ । महाधिवेशनस्थलमा राजनीतिक गतिविधिसँगै व्यापारिक गतिविधिसमेत चलायमान बनेका छन्।
देशका विभिन्न ठाउँबाट आएका नेता–कार्यकर्तालाई लक्षित गर्दै महाधिवेशनस्थल वरपर विभिन्न वस्तु तथा सेवाका स्टलहरू राखिएका छन् ।
यस्तै, महाधिवेशनस्थलमा कफीको स्टल पनि सञ्चालनमा छ । कफी व्यापार गरिरहेकी अनुराधा जयसवाल गुरुङ भने यसलाई नियमित व्यापारभन्दा पनि महाधिवेशनमा आउने सहभागिलाई सहज रूपमा कफी उपलब्ध गराउने अवसरका रूपमा लिन्छिन् ।
नेपाल न्यूज बैंकसँगको कुरामा उनले भनिन्, ‘मैंले यसलाई व्यापार गरेर कमाउने उद्देश्यले गरेको होइन । महाधिवेशनमा देशका विभिन्न ठाउँबाट धेरै मानिसहरू आउनुभएको छ ।
उहाँहरूलाई सहज रूपमा कफी उपलब्ध होस् भनेर हामीले स्टल राखेका हौँ । यसअघि पनि हामीले यस्ता कार्यक्रमहरूमा कफी सेवा दिँदै आएका थियौँ ।’
उनका अनुसार महाधिवेशनमा देशका विभिन्न ठाउँबाट ठूलो संख्यामा मानिसहरू आउने भएकाले उनीहरूलाई सहज रूपमा कफी उपलब्ध गराउने उद्देश्यले स्टल सञ्चालन गरिएको हो । आफूहरू यसअघि पनि यस्ता कार्यक्रममा सहभागी हुँदै आएको उनले बताइन् ।
महाधिवेशन सुरु भएको करिब डेढ घण्टामै सयभन्दा बढी कप कफी बिक्री भइसकेको गुरुङले बताइन् । सुरुवाती समयमै राम्रो प्रतिक्रिया पाएको भन्दै उनले महाधिवेशन अवधिभर नै कफी सेवा जारी रहने जानकारी दिइन् ।
कफी स्टल सञ्चालनमा उनलाई पाँच–छ जनाको टोलीले सहयोग गरिरहेको छ । टोलीको सहकार्यबाट काम सहज रूपमा अघि बढिरहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘स्टल सुरु गरेको करिब डेढ घण्टा मात्रै भएको छ । सेटअप गर्न समय लाग्यो, तर अहिले राम्रै भइरहेको छ । सयभन्दा बढी कप कफी गइसकेको छ । काम टीमवर्कमा भइरहेको छ । यहाँ पाँच–छ जनाको टीम हुनुहुन्छ, उहाँहरूले नै मुख्य रूपमा सम्हालिरहनुभएको छ ।’
महाधिवेशनमा सहभागी नेता–कार्यकर्ताको चहलपहलसँगै कफी स्टलमा पनि भीड बढ्दै गएको छ । राजनीतिक बहस र भेटघाटका बीच महाधिवेशनस्थलमा कफीको स्वादले सहभागीलाई केहीबेरको विश्रामसमेत दिएको छ । गुरुङका अनुसार कफी स्टल महाधिवेशनको अन्तिम दिन अर्थात् २२ गतेसम्म सञ्चालन हुनेछ ।



















प्रतिक्रिया