Logo

प्रवास

‘कांग्रेसको लोकप्रियता घटेको छैन’ : डा. मीनेन्द्र रिजाल



नेपाली जनसम्पर्क समिति बेलायतले ६९ औं प्रजातन्त्र दिवस भव्यताका साथ मनाएको छ ।शनिबार पश्चिम लण्डनको फेल्थाममा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.मीनेन्द्र रिजालको प्रमुख अतिथ्यतामा प्रजातन्त्र दिवस मनाइएको हो ।

कांग्रेसका नेता डा.रिजालले पार्टी नेतृत्वमा नयाँ पुस्ता आउन जरुरी रहेको बताए । उनले पुरानै पुस्ताका नेताहरूबाट अब पार्टीलाई गति दिन कठिन रहेको बताए ।डा.रिजालले अबको नयाँ पुस्ताले कांग्रेस पार्टीको नेतृत्व लिनुपर्ने भन्दै युवा पुस्तालाई अगाडि आउन आग्रह गरेका छन् ।

डा.रिजालले सभापति शेरबहादुर देउवाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र रामचन्द्र पौडेलले पनि सहज वातावरण तयार गरिदिनुपर्ने धारणा राखेका छन् ।कांग्रेससँग अहिलेपनि ३६ प्रतिशत जनमत रहेको भन्दै उनले विगतमा पनि त्यही हाराहारीकै मत रहेको बताए । उनले कांग्रेसका कार्यकर्ताहरू अत्तिनुपर्ने अवस्था नरहेको बताए ।

‘नेपाली कांग्रेसको समर्थन घटेको छैन’, डा.रिजालले भने, ‘अहिले कम्युनिष्ट मिलेर मात्रै चुनाव हारिएको हो । हामी हारेका छैनौँ । जनतामा लोकप्रिय नै छौँ ।’कम्युनिस्ट सरकारको कार्यशैलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका कांग्रेसका नेता डा.रिजालले खड्गप्रसाद ओली नेतृत्वको सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए ।

‘सामाजिक सञ्जाल चलाउन पाइँदैन, सिधै थुन्ने कानून ल्याउनु भएको छ’, उनले भने, ‘प्रजातन्त्रमा गाली सुनेर सत्ताले सच्चिने मौका पाउँछ । तर, गीतमा समेत बन्देज लगाउने काम भएको छ ।’कांग्रेसका नेता डा.रिजालले भने, ‘अझ जनताले मन नपराएर पशुपति शर्मा गीत हटाउन बाध्य भएको भन्नुभएछ ।’

राज्यकै दवावमा गायक पशुपति शर्माले ‘लुट कान्छा लुट’ बोलको गीत हटाएको उनको दाबी थियो । ‘राज्यनै लागिसकेपछि व्यक्तिले केही गर्न सक्दैन’, डा.रिजालले भने, ‘तर त्यो गीतमा सरकारको मात्रै होइन हाम्रो पनि आलोचना थियो । उहाँहरू किन आत्तिनु भयो ?’

उनले संघीयता लागू भएपनि केन्द्रको हस्तक्षेपकारी नीति देखिएको बताए । चुनावको बेला ठूलाठूला भाषण गरे पनि अहिले ओली सरकारले केही गर्न नसकेको डा.रिजालले बताए । उनले कम्युनिस्ट सरकारबाट जनतामा निराशा छाउन थालेको बताए ।

समितिका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पूर्व गोर्खाहरूको समानताको मुद्दा, एनआरएनहरूका समस्या, कांग्रेस सुधारको अपेक्षा र समयसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ४ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।