Logo

समाचार

मानव–बाघ द्वन्द्व व्यवस्थापन गर्न ५० हेक्टर जमिनमा टाइगर सेन्चुरी बनाइने



काठमाडौं । मानव–बाघ द्वन्द्व बढ्दै गएपछि समस्याग्रस्त बाघको दीर्घकालीन व्यवस्थापन गर्न सरकारले कम्तीमा ५० हेक्टर क्षेत्रफल जमिनमा टाइगर सेन्चुरी निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले अमेरिकास्थित संस्था द वाइल्ड एनिमल सेन्चुरी (टीडब्ल्यूएएस) सँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

कृषि वन तथा पर्यावरणमन्त्री एवं एनटीएनसीका अध्यक्ष गीता चौधरीको प्राथमिकतामा रहेको योजनालाई कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय साझेदारी अघि बढाइएको हो । समझदारीपत्रमा कोषका सदस्य–सचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र टीडब्ल्यूएएसका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गरेका छन् ।

नेपालमा बाघको संख्या बढेसँगै मानव बस्तीमा प्रवेश गर्ने र मानवीय क्षति निम्त्याउने समस्याग्रस्त बाघको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । प्राकृतिक वासस्थानबाट नियन्त्रणमा लिइएका यस्ता बाघलाई हाल विभिन्न साँघुरा खोरमा राख्ने गरिएको छ । तिनको दीर्घकालीन स्याहार, सुरक्षित आवास र वैज्ञानिक व्यवस्थापनका लागि छुट्टै सेन्चुरी निर्माण गर्न लागिएको हो ।

समझदारीअनुसार टीडब्ल्यूएएसले आफ्नो ४६ वर्षभन्दा लामो अनुभव र विज्ञता प्रयोग गर्दै सेन्चुरीको भौतिक पूर्वाधार, प्राकृतिक वासस्थानको डिजाइन, पशु चिकित्सालय र घेराबार निर्माणका लागि आवश्यक आर्थिक तथा प्राविधिक स्रोत जुटाउनेछ । सेन्चुरीका लागि उपलब्ध गराइने जग्गाको स्वामित्व भने नेपाल सरकार वा एनटीएनसीकै रहनेछ ।

प्रस्तावित सेन्चुरी समस्याग्रस्त बाघको आजीवन सुरक्षित बासस्थानका रूपमा विकास गरिनेछ । यसलाई वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतना र शिक्षा प्रवाह गर्ने केन्द्रका रूपमा समेत सञ्चालन गर्ने योजना छ ।

समझदारीअनुसार सेन्चुरीमा राखिने बाघलाई व्यावसायिक मनोरञ्जन, फोटो सेसन, खेल वा प्रजनन प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन । यसले समस्याग्रस्त बाघको सुरक्षित व्यवस्थापन गर्नुका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र पाटेबाघ संरक्षणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यद्यपि, सेन्चुरी निर्माणका लागि उपयुक्त स्थान छनोट, निर्माण लागत, स्रोत परिचालनको समयसीमा र सञ्चालन व्यवस्थापनको विस्तृत खाका सार्वजनिक विवरणमा खुलाइएको छैन । परियोजनाको प्रभावकारिता त्यसको कार्यान्वयन, दीर्घकालीन वित्तीय व्यवस्थापन र समस्याग्रस्त बाघको वैज्ञानिक हेरचाहमा निर्भर हुनेछ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १२:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।