Logo

अर्थ

निगमलाई ग्यास विक्रेताको पत्र: उद्योगबाट सीधा बिक्री बन्द गर्न माग



काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास विक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो ।

महासंघले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुँदाहुँदै उद्योगबाटै २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री भइरहेको आरोप लगाएको छ।

महासंघले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी फिर्ता गरी व्यवस्थापन गर्नुको सट्टा आगामी वर्षहरूमा पुनः आम उपभोक्तामाथि आर्थिक भार पर्ने गरी विभिन्न क्षमताका सिलिन्डर बिक्री गर्ने योजना अघि सारिएको भन्दै आपत्ति जनाएको छ।

ज्ञापनपत्रमा ५ केजी, १९ केजी, ५० केजी र ४५० केजी क्षमताका सिलिन्डर बिक्री गर्ने योजनाप्रति समेत महासंघले असन्तुष्टि जनाएको छ। बजारमा विद्यमान १४.२ केजी क्षमताका सिलिन्डरको उचित व्यवस्थापन नगरी नयाँ–नयाँ क्षमताका सिलिन्डर थप्दा समस्या झन् जटिल बन्न सक्ने महासंघको सङ्केत छ।

महासंघले ग्यास आपूर्तिको समस्या समाधानका लागि उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री गर्ने व्यवस्था गर्न माग गरेको छ। त्यसैगरी ग्यास अभावको वास्तविक कारण पहिचान गरी सम्बन्धित सरोकारवालासँग आवश्यक परामर्श गरेर उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निगमसँग आग्रह गरिएको छ।

महासंघले १४.२ केजी क्षमताको प्रचलित घरेलु ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्नसमेत जोडदार माग गरेको छ।  ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा ग्यासको आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न उद्योग, निगम, सरकार र विक्रेताबीच समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ।

महासंघले ५, १९, ५० र ४५० केजीका नयाँ सिलिन्डर थप्ने योजनाप्रति समेत असन्तुष्टि जनाउँदै विद्यमान १४.२ केजी सिलिन्डरको समस्या समाधान नगरी नयाँ सिलिन्डर थप्दा समस्या झन् जटिल बन्ने जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १३:२१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।