Logo

राजनीति

कांग्रेस महाधिवेशनमा युवा पुस्तादेखि विज्ञसम्मको नेतृत्वमा दाबी



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्तादेखि पेशागत विज्ञसम्मका उम्मेदवारहरूले पार्टीलाई समयसापेक्ष, सुदृढ र जनतामुखी बनाउने एजेन्डासहित विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बागमती प्रदेशबाट युवा महिला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी अभिप्सा पौडेलले आफू देशकै कान्छो उम्मेदवार रहेको दाबी गर्दै कांग्रेसप्रति घट्दै गएको जनविश्वास पुनः बढाउने र संगठन सुदृढ बनाउने आफ्नो प्रमुख उद्देश्य रहेको बताएकी छन् ।

उननले पार्टीमा युवा र महिलालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै महिलालाई आफ्नो अधिकारबारे सचेत र सक्षम बनाउने तथा युवाका लागि देशमै रोजगारी र अवसर सिर्जना गर्ने आफ्नो एजेन्डा रहेको बताइन् ।

पौडेलले आफू सानैदेखि नेतृत्व गर्न र अरूका लागि आवाज उठाउन रुचाउने भएकाले राजनीतिमा आएको बताइन् । उनले राजनीतिलाई ‘दिमागको खेल’ का रूपमा व्याख्या गर्दै युवा तथा महिलाको सहभागिता बढाउन आफू सक्रिय हुने बताइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले खस–आर्य समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् । दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेकाले अब नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिन आफू पदाधिकारीमा जान चाहेको उनले बताए ।

कोइरालाले पार्टीलाई शुद्धीकरण गर्दै नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । वर्तमान सभापति गगन थापाको नेतृत्वमा सशक्त टिम निर्माण हुनुपर्ने धारणा राख्दै उनले विगतमा कांग्रेसबाट भएका कमजोरी र गल्ती सच्याएर जनतासँग क्षमायाचना गर्दै आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए ।

उनका अनुसार देश र कांग्रेस दुवै कठिन अवस्थामा रहेकाले जनताको आवाज, भावना र चाहना बुझ्ने कांग्रेस निर्माण गर्नु अहिलेको आवश्यकता हो । पार्टीलाई बलियो बनाएर देशको नेतृत्व गर्न आफूले पदाधिकारीमा उम्मेदवारी दिएको उनले बताए ।

मधेसी खुलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार डा. गरिब दास ठाकुरले कांग्रेसलाई प्रजातन्त्रको लडाइँको अगुवा राजनीतिक दलका रूपमा थप सुदृढ बनाउन आफू उम्मेदवार बनेको बताए । उनले जनताको विकास, सुशासन र समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

ठाकुरले आफू गाउँ तहदेखि प्रतिस्पर्धा गर्दै निर्वाचित भएर आएको उल्लेख गर्दै यसपटक पनि आन्तरिक प्रतिस्पर्धामा विजयी हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, इन्जिनियर डा. रामकृष्ण पौडेलले पेशागत विज्ञतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले कांग्रेसका एजेन्डालाई आम नागरिकसम्म पुर्याउन डिजिटल माध्यमको प्रभावकारी प्रयोग आवश्यक रहेको बताए ।

कांग्रेसको डिजिटल व्यवस्थापन कमजोर रहेको आम नागरिकले समेत महसुस गरिरहेको भन्दै पौडेलले आफूले विज्ञका रूपमा पार्टी र जनताबीच ‘डिजिटल ब्रिजिङ’ को भूमिका निर्वाह गर्ने बताए ।

पार्टीका नीति तथा एजेन्डालाई डिजिटल माध्यमबाट जनतासम्म पुर्याउन सके आगामी स्थानीय तह तथा अन्य निर्वाचनमा कांग्रेसले राम्रो पुनरागमन गर्न सक्ने उनको धारणा छ ।

युवा नेता योगेश गौचन थकालीले केन्द्रीय कार्यसमितिमा आफ्नो न्यूनतम दाबी रहने बताउँदै सहमहामन्त्री पदमा समेत आफ्नो दाबी हुन सक्ने संकेत गरेका छन् । उनले युवाको सहभागिता मात्र नभई पार्टीमा हस्तक्षेपकारी भूमिका पनि आवश्यक रहेको बताए ।

थकालीले २१औँ शताब्दीको बदलिँदो आर्थिक, सामाजिक र राजनीतिक परिवेशअनुसार कांग्रेसलाई समयसापेक्ष र सान्दर्भिक बनाउन युवाको भूमिका महत्वपूर्ण हुने बताए ।

नीति निर्माणदेखि परिणाममुखी कामसम्म युवालाई राजनीतिमा सहभागी गराउँदै कांग्रेसप्रति गुमेको विश्वास पुनस्र्थापित गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए ।

उनले १५औँ महाधिवेशनपछि कांग्रेसको राजनीतिक दृष्टिकोण, विचार, कार्यशैली र सांगठनिक संरचनामा परिवर्तन देखिनुपर्ने बताए । राष्ट्रियता, समाजवाद र लोकतन्त्रलाई पार्टीका मूल सिद्धान्तका रूपमा कायम राख्दै तिनलाई २१औँ शताब्दीको नेपालअनुकूल पुनःपरिभाषित गर्नुपर्ने उनको भनाइ छ ।

महाधिवेशनले कांग्रेसलाई नयाँ राजनीतिक दृष्टिकोण र कार्यशैलीसहित जनतामाझ थप विश्वासयोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा उम्मेदवारहरूले जोड दिएका छन् ।

यसैगरी आदिवासी जनजाति खुलामा नेपाली कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार खडकबहादुर रानाले मुलुकको समृद्धि र लोकतान्त्रिक व्यवस्था सुदृढ गर्न कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।

उनले कांग्रेस बलियो भए मात्रै मुलुकमा लोकतन्त्र, सुशासन र मानवअधिकार कायम गर्न सकिने धारणा राखे । विगतका नेतृत्वबाट भएका कमीकमजोरीलाई सुधार्दै पार्टीमा नयाँ पुस्ता, विभिन्न देशको अनुभव भएका युवा तथा विषयगत विशेषज्ञलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

रानाले आफूले दुई दशक पत्रकारिता क्षेत्रमा काम गर्दै सम्बन्धित विषयमा अनुभव र विशेषज्ञता हासिल गरेको बताए । जापान, चीन, अफ्रिकालगायत विभिन्न देशको भ्रमण गरी त्यहाँका विकासका मोडलहरूको अध्ययन गरेको उल्लेख गर्दै उनले मानवअधिकार र सुशासनका क्षेत्रमा समेत काम गरेको बताए ।

आफूले तालिमका क्षेत्रमा समेत काम गर्दै लाखौँ मानिसलाई प्रशिक्षण दिएको उल्लेख गर्दै रानाले आफ्नो अनुभव, ज्ञान र विशेषज्ञतालाई अब कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा समर्पित गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए ।

उनले नयाँ पुस्ताको अनुभव र विशेषज्ञतालाई पार्टीमा उपयोग गर्न सके कांग्रेसलाई थप प्रभावकारी र सशक्त बनाउन सकिने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार २०:२३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।