Logo

समाचार

भोटेकोशी बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण गर्ने भएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विकास साझेदार संघसंस्था र स्थानीय तहसँगको सहकार्यमा प्रभावित परिवारका लागि ‘ट्रान्जिसनल सेल्टर’ निर्माण गर्ने निर्णय गरेको हो।

बैठकले पुनर्निर्माणमा सहयोग गर्न इच्छुक विकास साझेदार संघसंस्थालाई कुन स्थानीय तहमा कति संख्यामा घर निर्माण गर्ने हो भन्ने विवरण प्राधिकरणलाई उपलब्ध गराउन आह्वान गरेको छ।

निर्णयअनुसार सहयोगी संस्थाले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डअनुसार अस्थायी आवास निर्माण गर्नुपर्नेछ।

त्यसका लागि बाढी प्रभावित क्षेत्रमा वास्तविक लाभग्राही परिवारको पहिचान गरी आवश्यक घरको संख्या यकिन गर्न स्थानीय तहलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्राधिकरणका अनुसार लाभग्राहीको विवरण संकलन र आवश्यक आवासको संख्या निर्धारण भएपछि निर्माण कार्य अघि बढाइनेछ।

 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार २१:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।