काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताएका छन्।
इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आईजीआई)ले आयोजना गरेको १७ औं एसिया–प्यासिफिक रिजनल इन्टरनेट गभर्नेन्स फोरम–२०२६ को समापन समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधि नागरिकको शिक्षा, सञ्चार, व्यवसाय, सार्वजनिक सेवा र सामाजिक सहभागिताको महत्वपूर्ण माध्यम बन्दै गएको बताए।
नेपालको भौगोलिक विविधताका कारण ग्रामीण, दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार चुनौतीपूर्ण रहे पनि सरकारले यसलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो। पहुँच विस्तारसँगै इन्टरनेट सेवाको गुणस्तर, विश्वसनीयता र निरन्तरता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
‘डिजिटल रूपान्तरणको उद्देश्य देशलाई डिजिटल बनाउनु मात्र होइन, डिजिटल प्रविधिमार्फत नागरिकको जीवनमा सुधार ल्याउनु पनि हो,’ मन्त्री तिमिल्सिनाले भने।
उनले इन्टरनेट पहुँच विस्तार मात्रै पर्याप्त नहुने भन्दै नागरिकले आवश्यक परेको समयमा गुणस्तरीय र भरपर्दो सेवा पाउनुपर्ने बताए। व्यवसाय सञ्चालनका लागि विश्वसनीय सञ्जाल, सार्वजनिक सेवाका लागि निरन्तर सञ्चार तथा विपद्का समयमा समेत सञ्चालनमा रहने सञ्चार प्रणाली आवश्यक रहेको उनले उल्लेख गरे।
हालैको रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्ले सञ्चार पूर्वाधारको महत्त्व थप उजागर गरेको पनि मन्त्री तिमिल्सिनाले बताए। सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त हुँदा, समुदायबीच सम्पर्क विच्छेद हुँदा तथा उद्धार र राहतमा समन्वय आवश्यक पर्दा सञ्चार सेवा अत्यावश्यक हुने उनले बताए।
डिजिटल प्रविधिको विस्तारसँगै ग्रामीण क्षेत्रका विद्यार्थीले विश्वव्यापी ज्ञानमा पहुँच पाउने, किसानले बजार र मौसमसम्बन्धी सूचना प्राप्त गर्ने तथा साना उद्यमीले स्थानीय बजारभन्दा बाहिर आफ्ना उत्पादन पुर्याउन सक्ने अवस्था बनेको उनले बताए।
सरकारले आगामी दिनमा डिजिटल पहुँच विस्तारसँगै डिजिटल समावेशिता, साइबर सुरक्षा, सेवाको विश्वसनीयता तथा विपद् प्रतिरोधी सञ्चार प्रणाली विकासलाई प्राथमिकता दिने मन्त्री तिमिल्सिनाले बताए।



















प्रतिक्रिया