Logo

अर्थ

रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत नगद लाभांश वितरण



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्दै उच्च अङ्कको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिनेछ । प्रस्तावित लाभांशमा प्रचलित कानुनबमोजिम लाग्ने करसमेत समावेश गरिएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन पारित गरेको छ । गोल्याण ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स गत आर्थिक वर्षमा नेप्सेमा सूचीकरण भएको नेपालको सबैभन्दा ठूलो निर्यातमूलक र रोजगारदाता कम्पनी हो ।

साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत व्यवसाय विस्तार गर्नेसम्बन्धी महत्त्वपूर्ण योजना प्रस्ताव पनि पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गरी अत्याधुनिक प्रविधियुक्त उद्योग स्थापना गर्ने र विभिन्न प्रकारका फाइबर उत्पादन गर्ने उद्देश्य योजनामा सामेल छन् ।`अल्लो, हेम्प, केरा लगायतका प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्नुका साथै विभिन्न प्रकारका कपडा तथा गार्मेन्ट उत्पादन र फाइबर, धागो तथा कपडाको रङ्गाई गरिनेछ´ संशोधित प्रावधानमा भनिएको छ ।

कम्पनीले औद्योगिक विस्तार, प्राकृतिक फाइबरमा आधारित उत्पादन तथा कपडा र गार्मेन्ट उद्योगमा प्रवेश गर्ने रणनीति अघि बढाउने भएको छ । कम्पनीको प्रस्तावित व्यवसाय विस्तारले परम्परागत तथा स्थानीय स्रोतमा आधारित फाइबरलाई आधुनिक प्रविधिसँग जोड्दै मूल्य अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । विशेषगरी फाइबर, धागो, कपडा तथा तयारी पोशाक उत्पादनमा प्रवेश गर्ने योजनालाई कम्पनीको व्यवसाय विविधीकरणको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

साधारणसभाले कम्पनीको सञ्चालक समितिको संरचनामा पनि परिवर्तन गरेको छ । संशोधित व्यवस्थाअनुसार कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चार जना, सर्वसाधारण शेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक गरी कुल ६ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था गरिएको छ ।

यसैअनुसार सम्पन्न निर्वाचन प्रक्रियाबाट संस्थापक शेयरधनी समूहबाट पवन कुमार गोल्याण, शशी कान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाले कम्पनीको स्वतन्त्र सञ्चालकमा वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीको नियुक्तिसमेत अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार १४:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।