काठमाडौं । काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा रहेको दसैँघरमा बडादसैँको पहिलो दिन घटस्थापनाको शुभ साइत पारेर विधिपूर्वक जमरा राखिएको छ ।
हनुमानढोकामा तैनाथ नेपाली सेनाको शार्दूलजङ्ग गुल्मका पण्डित वेणुपहरि दाहालले वैधृति योग र चित्रा नक्षत्र परेकाले शान्तिविधि गरेर विधिपूर्वक घटस्थापना गरिएको बताएका छन् ।
उनले गुरुहरूको सल्लाहअनुसार शान्तिविधि गरी नवदुर्गा भगवतीको आह्वान, स्थापना तथा पूजाआजा गरेर जमरा राख्ने कार्य सम्पन्न गरिएको बताए ।
उनका अनुसार घटस्थापनाका लागि आइतबार बिहान ११ बजेर ४६ मिनेटको साइत निर्धारण गरिएको थियो । सोही साइतमा सङ्कल्प गरेर विधिपूर्वक जमरा रोप्ने कार्य गरिएको उनले बताए । ‘विशेष गरेर वैधृति योग र चित्रा नक्षत्र परेका कारणले गर्दा धन नाश हुने र आफ्नो सन्तान नाश हुने भन्ने एउटा योग थियो । त्यो योगलाई सबैले शान्ति गरेर त्यसपछि घटस्थापना गरेर जमरा राख्नु उपयुक्त हुन्छ,’ उनले भने ।
दाहालका अनुसार यस्तो अवस्थामा विधिपूर्वक पूजाआजा गरेर शान्ति गर्ने परम्परा छ । त्यसका लागि देवीदेवता तथा २७ नक्षत्रका देवीदेवताको स्थापना गरी पूजा गर्नुपर्ने उनले बताए ।
दाहालले दशैँमा जमरा राख्नुको धार्मिक महत्त्व रहेको बताए । उनका अनुसार जमरा अन्नमध्ये प्रमुख र पवित्र मानिनुका साथै दुर्गा भगवतीको प्रिय वस्तुका रूपमा लिइन्छ ।
घटस्थापनाका दिन जमरा रोपेर नौं दिनसम्म जल चढाउने, पूजाआजा गर्ने र देवीको आराधना गर्ने परम्परा रहेको उनले बताए । नौ दिनसम्म नवदुर्गाको पूजा गरी शक्ति प्राप्तिको कामना गरिन्छ भने दशमीका दिन टीका र जमरा लगाएर देवीको प्रसाद ग्रहण गर्ने चलन रहेको उनको भनाइ छ ।
दाहालका अनुसार दशैँलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयका रूपमा पनि लिइन्छ । यही अवसरमा दुर्गा भगवतीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको धार्मिक मान्यता स्मरण गरिन्छ ।




















प्रतिक्रिया