Logo

प्रमुख समाचार

विवादित अडियो सार्वजनिक भएपछि खगेन्द्र सुनारले भने- छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु



काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि मंगलबार एक भिडियाे जारी गर्दै उनले यस्ताे बताएका हुन् ।

सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूविरुद्ध निरन्तर प्रहार भइरहेको आराेप लगाए ।

उनले आफू विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको र आफ्नो नाम जोडेर काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गरेका छन् । ‘आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन् । एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचार हुन्,’ सुनारले भनेका छन् ।

उनले आफूविरुद्ध उठेका प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । भ्रष्टाचार विरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु । र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु ।’

यदि आफूले कानुन र नैतिकताविपरीत कुनै गल्ती वा अपराध गरेको ठहरिएमा पार्टीको केन्द्रीय समिति तथा सांसद पदबाट निलम्बित हुन मात्र नभई हत्कडी लगाएर जस्तोसुकै कानुनी सजाय भोग्न पनि तयार रहेको उनले बताएका छन्।

 

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार १२:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।