काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि मंगलबार एक भिडियाे जारी गर्दै उनले यस्ताे बताएका हुन् ।
सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूविरुद्ध निरन्तर प्रहार भइरहेको आराेप लगाए ।
उनले आफू विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको र आफ्नो नाम जोडेर काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गरेका छन् । ‘आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन् । एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचार हुन्,’ सुनारले भनेका छन् ।
उनले आफूविरुद्ध उठेका प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । भ्रष्टाचार विरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु । र, ममाथि हुने छानबिनको लागि म सबैलाई सघाउन तयार छु ।’
यदि आफूले कानुन र नैतिकताविपरीत कुनै गल्ती वा अपराध गरेको ठहरिएमा पार्टीको केन्द्रीय समिति तथा सांसद पदबाट निलम्बित हुन मात्र नभई हत्कडी लगाएर जस्तोसुकै कानुनी सजाय भोग्न पनि तयार रहेको उनले बताएका छन्।




















प्रतिक्रिया