Logo

राजनीति

साउदी अरबमा नेपाली कामदारका समस्या समाधान गर्ने सुनारको प्रतिबद्धता



काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले नेपाली कामदारका समस्या समाधान, लगानी आकर्षण र द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिमा बोल्दै सुनारले साउदी अरबमा ठूला पूर्वाधार परियोजना निर्माण भइरहेकाले नेपालका लागि सीप, जनशक्ति र वैदेशिक लगानी आकर्षित गर्ने अवसर रहेको बताए ।

‘हाम्रो लागि साउदी अरब किन महत्वपूर्ण छ भने त्यहाँ नियोम, वेक्सि, ग्लोभ, क्लियरलगायत ठूला मेगा प्रोजेक्टहरू गइरहेका छन्, बन्दै गइरहेका छन्। नेपालको लागि यो बन्दै गर्दा सीप, जनशक्ति र वैदेशिक लगानी आकर्षित गर्नका लागि ठूलो उपलब्धि र मौका हुनेछ,’ उनले भने, ‘५०औँ साझेदारी वर्ष मनाउँदै गर्दा लगानी र अवसरहरू खोल्न सक्ने देख्छौँ।’

उनले नेपालले साउदी अरबमा चिया, कार्पेट, स्कार्फलगायतका वस्तु निर्यात गर्ने गरेको र साउदी अरबबाट प्लास्टिक तथा रसायनजन्य वस्तु आयात हुने गरेको जानकारी दिए। उनका अनुसार नेपालले करिब ३ लाख ८५ हजार मूल्य बराबरका वस्तु निर्यात गर्दा साउदी अरबबाट ५१.७ मिलियन मूल्य बराबरका वस्तु आयात हुने गरेको छ ।

दुई देशबीचको व्यापार र लगानी विस्तारमा दोहोरो कर प्रणालीसम्बन्धी समस्या रहेको उल्लेख गर्दै उनले त्यसलाई समाधान गर्नुपर्ने बताए ।

‘डबल ट्याक्सेसनले गर्दा त्यहाँका मुलुकका व्यापारीहरूले यहाँ लगानी गर्न अप्ठ्यारो मान्छन्,’ उनले भने ।

सुनारले साउदी अरबले फास्ट ट्र्याक, साउदी फन्ड लोन र बूढीगण्डकी जलविद्युत् आयोजनालगायतका केही परियोजनामा सहयोग गरेको पनि बताए ।

नेपाली कामदारको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले साउदी अरबमा जाने नेपालीमध्ये उच्च दक्षता भएका कामदारको संख्या पाँच प्रतिशत मात्रै रहेको बताए। अधिकांश नेपाली कामदारलाई ठेकदारमार्फत विदेश लैजाँदा ठगीमा पर्ने र त्यहाँ पुगेपछि समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

‘त्यहाँ पाँच प्रतिशत मात्रै उच्च दक्षताका कामदार गइरहनुभएको छ। यहाँबाट धेरैजसो कन्ट्र्याक्टरहरूले धोकाधडी गरेर नेपाली नागरिकहरूलाई लगिन्छ र त्यहाँ विचल्ली पारिन्छ,’ उनले भने ।

साउदी अरबमा कामदारका लागि आवश्यक आवासीय अनुमतिपत्र (इकामा) नपाउँदा पनि नेपालीहरू समस्यामा पर्ने गरेको उनले बताए । त्यस्तै, मृत्यु भएका नेपालीको शव व्यवस्थापन र परिवारले शव प्राप्त गर्ने प्रक्रियामा समेत समस्या रहेको उनले उल्लेख गरे ।

‘धेरै मृतक शरीरहरू नेपाल आउने गरेको देख्छौँ। १४ दिनभित्र क्लेम नगरेको खण्डमा त्यहाँको सरकारले जमिनमुनि राखेर गाडिदिने गर्छ,’ उनले भने ।

सुनारले साउदी अरबमा नेपाली राजदूतावास निर्माणका लागि जग्गा लिइएको भन्ने जानकारी पाएको उल्लेख गर्दै दूतावास निर्माण भएमा नेपाली कामदारलाई सेवा प्रवाह गर्न सहज हुने बताए । कामदारका समस्या समाधानका लागि कानुनी सहायता टोली आवश्यक रहेको उनको भनाइ छ ।

उनले राजदूतका रूपमा कार्यकालमा गर्नुपर्ने काम समेटेर चार वर्षे कार्ययोजना बुझाएको जानकारी पनि दिए ।

‘मैले चार वर्षमा गर्नुपर्ने कार्यपत्र बुझाएको छु। त्यसमध्ये पहिलो ३० दिनमा मैले पेन्डिङ केसहरू अडिट गर्छु,’ उनले भने, ‘कामदारको पासपोर्टहरूको समस्यालाई समाधान गर्न द्रुतगतिमा काम अगाडि बढाउँछु।’

सुनारले नेपाली कामदारका समस्या समाधान, कानुनी सहायता, व्यापार विस्तार र लगानी प्रवद्र्धनलाई आफ्नो कार्ययोजनामा समेटेको बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १६:५१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।