बागलुङ। दसैँलाई लक्षित गरी मुस्ताङबाट च्याङ्ग्रा बागलुङ भित्रिने क्रम बढेको छ। मूल्य बढे पनि दसैँमा च्याङ्ग्राको मासु खाने परम्परा र कोसेलीका रूपमा लैजाने चलनले माग कायम रहेको व्यापारीले बताएका छन्।
बागलुङ बजारमा रोज्जा च्याङ्ग्राको मूल्य ४५ देखि ५० हजार रुपैयाँसम्म पुगेको छ। डोल्पा र मुस्ताङबाट २५ दिनको पैदलयात्रा गरी च्याङ्ग्रा ल्याएका व्यापारी तेन्जिङ तार्के तामाङले यस वर्ष आयात घटेकाले व्यापार राम्रो हुने अपेक्षा गरे। उनले ल्याएका २०० च्याङ्ग्रामध्ये १०० बागलुङ र १०० पोखरा पठाएका छन्।
व्यापारी बलबहादुर थापाका अनुसार च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार २०० रुपैयाँमा बिक्री भइरहेको छ। मूल्यवृद्धि, बाढीपहिरो र सडक अवरोधका कारण यस वर्ष मुस्ताङबाट च्याङ्ग्रा कम भित्रिएका छन्।
मुस्ताङबाट म्याग्दी र बागलुङ हुँदै पोखरा तथा काठमाडौंका लागि १३ हजार ८१७ भेडाच्याङ्ग्रा निकासी भएका छन्। तीमध्ये ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्ला पठाइएको छ।




















प्रतिक्रिया