काठमाडौं। काठमाडौंंबाट सिन्धुलीतर्फ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा परी तीन जना अझै बेपत्ता छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान करिब २ः३० बजे को १ ज २९७६ नम्बरको गाडी सुनकोसी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठका अनुसार दुर्घटनास्थलमा तीन महिलाको शव फेला परेको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। घाइते हुनेमा ओखलढुंगाका २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक छन्।
घाइतेहरूको सेवा हेल्थ सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।




















प्रतिक्रिया