काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको नक्साङ्कन तथा विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कनको काम तीव्र पारिएको बताएका छन्। आवश्यकताका आधारमा लगानी गरी विश्वविद्यालयमा हुने दोहोरो खर्च नियन्त्रण गर्ने सरकारको योजना रहेको उनले बताए।
बागमती विश्वविद्यालयले हेटौँडामा आयोजना गरेको उच्च शिक्षा प्रणाली सुदृढीकरणसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालय स्थापना गर्दा भौगोलिक आवश्यकता, औचित्य र स्थानीय अवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
उनका अनुसार संघीय र प्रदेश सरकारअन्तर्गतका विश्वविद्यालयबीच समन्वय अभिवृद्धि गर्न आवश्यक संयन्त्र निर्माण गरिएको छ।
शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत तथा संरचनागत काम अघि बढाइएको उल्लेख गर्दै उनले विद्यालय शिक्षा ऐन निर्माण र शिक्षा नियमावली संशोधनको प्रक्रिया पनि जारी रहेको जानकारी दिए।
दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालयको संस्थागत विकास, शैक्षिक कार्यक्रमको प्रभावकारिता तथा संघ र प्रदेश सरकारबीचको सहकार्यलगायत विषयमा छलफल भइरहेको छ।




















प्रतिक्रिया