Logo

प्रमुख समाचार

सञ्चारगृहमाथि छापा र पत्रकार धरपकडप्रति एमाले प्रचार विभाग प्रमुख आचार्यको आपत्ति



काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सञ्चारगृहमाथि छापा मार्ने र सञ्चारकर्मीमाथि धरपकड गर्ने सरकारी गतिविधिप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले सञ्चारमाध्यममाथिको हस्तक्षेपलाई अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको संज्ञा दिएका छन्।

उनले सरकारले सञ्चारगृहमा छापा मार्ने, सञ्चारकर्मीलाई पक्राउ गर्ने तथा भय र त्रासको वातावरण सिर्जना गर्ने काम गरिरहेको भन्दै त्यसको निन्दा गरेका हुन्।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै उनले सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको बताएका छन्।

राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा सरकारले नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत व्यवहार देखाउनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ।

कानुनको शासनको नाममा कानुनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन, आचार्यले लेखेका छन्।

उनले सञ्चारमाध्यममाथि हुने गैरकानुनी हस्तक्षेप र सञ्चारकर्मीमाथिको धरपकड तत्काल रोक्न माग गरेका छन्। साथै सञ्चारगृह तथा सञ्चारकर्मीको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न सरकारसँग आग्रह गरेका छन्।

सरकारको कदमलाई दमनकारी र निरङ्कुश भन्दै आचार्यले प्रेस स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनको रक्षाका लागि आवाज उठाउनसमेत आह्वान गरेका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार २०:०५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।