काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारका अवसरमा बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले आज सूचना जारी गर्दै तिहारका अवसरमा राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गरिने जानकारी गराएको हो ।
ग्राहकलाई कात्तिक १९ गते र २० गते सुनको असर्फी तथा चाँदीको मेडालियन किन्न महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिने सूचनामा उल्लेख छ ।
प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अंकित) १–१ थान (बढीमा २ थान मात्र) बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।
असर्फी र मेडालियन खरिदका लागि नेपाली नागरिक वा राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । सुनको असर्फी तथा चाँदीका मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरू हुनेछ ।





















प्रतिक्रिया