काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाबीच ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले ठोस आधार र प्रमाणबिना सरकारले गर्ने धरपकड तथा हिरासतको कदमले सम्बन्धित नेताको व्यक्तित्व कमजोर बनाउनुको सट्टा झन् स्थापित गर्न सक्ने टिप्पणी गरेका छन्।
पन्तले इतिहासको उदाहरण दिँदै राजा महेन्द्रले बीपी कोइरालालाई सुन्दरीजलमा बन्दी बनाएको घटनाले बीपीको राजनीतिक व्यक्तित्व, विचार र योगदानलाई थप स्थापित गर्न भूमिका खेलेको स्मरण गराए। उनले भने, ‘हिरासतले नेताको व्यक्तित्व झन् निर्माण गर्छ, सरकारको होइन।’
उनका अनुसार अहिले सामाजिक सञ्जालमा लाइक, भ्युज र चर्चाको प्रतिस्पर्धा चलिरहेको समयमा सरकार पनि त्यही मनोविज्ञानबाट प्रभावित भएर कसलाई पक्राउ गर्दा आफ्नो चर्चा बढ्छ भन्ने सोचमा केन्द्रित हुनु उचित होइन। राज्यले लोकप्रियता र प्रचारभन्दा माथि उठेर कानुनी आधार, प्रमाण र विधिको शासनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
पन्तले गगन थापा, बालेन शाह र रवि लामिछानेबीचका राजनीतिक तथा नीतिगत मतभेदलाई व्यक्तिगत तुस्सल र शक्ति संघर्षका रूपमा मात्र अघि बढाउँदा मुलुकको दीर्घकालीन हित प्रभावित हुन सक्ने बताए। उनका अनुसार केही महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा व्यापक राष्ट्रिय सहमति निर्माण नगरी देशलाई अगाडि बढाउन कठिन हुन्छ।
‘व्यक्तिगत टकराव, राष्ट्र निर्माण र राजनीति फरक विषय हुन्। नेतृत्वले यी तीनवटाबीचको भिन्नता बुझ्न सक्नुपर्छ। राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा छ, तर राष्ट्रिय हितका विषयमा सहकार्य र सहमति आवश्यक हुन्छ,’ पन्तको भनाइ छ।
उनले ‘एआईको युगमा नेपाल’ अभियानले यस्ता महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा राजनीतिक दल, नेतृत्व, नागरिक समाज, युवा पुस्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाबीच संवाद र राष्ट्रिय सहमति निर्माणका लागि रचनात्मक भूमिका खेल्न सक्ने पनि बताए।





















प्रतिक्रिया