काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित कार्यक्रममा सेनाले श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी गराएको हो ।
नवनियुक्त प्रवक्ता श्रेष्ठले नेपाली सेनाले गर्दै आएका विकास निर्माण, विपद् व्यवस्थापनलगायतका गतिविधिबारे आम नागरिकलाई सुसूचित गराउन सञ्चारमाध्यमसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रामक समाचार तथा सूचनाको निराकरण गर्न पनि आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताए ।
नेपाली सेना र सञ्चारजगत्बीच सुरुदेखि नै सौहार्दपूर्ण, व्यावसायिक र प्रगाढ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै श्रेष्ठले आगामी दिनमा यसलाई थप पारदर्शी र प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।
उनले सैनिक गतिविधिसम्बन्धी सूचना प्रवाह प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
श्रेष्ठ २०४८ सालमा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गरेका थिए । उनले यसअघि सेनाका विभिन्न विभागमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।




















प्रतिक्रिया