Logo

खेलकुद

पुरुष ओडीआई क्रिकेटको सबैभन्दा कम स्कोरको कीर्तिमानमा नेपालको नाम



काठमाडौं । पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम योगफलको विश्व कीर्तिमानमा नेपालको नाम पनि अंकित छ। नेपालले सन् २०२० मा अमेरिकालाई मात्र ३५ रनमा अलआउट गर्दै ओडीआई इतिहासकै सबैभन्दा कम स्कोरको संयुक्त कीर्तिमान बनाएको थियो।

ओडीआई क्रिकेटमा अहिलेसम्मकै कम योगफल ३५ रन हो। यो स्कोर नेपाल र जिम्बाब्वेको नाममा संयुक्त रूपमा छ। जिम्बाब्वे सन् २००४ अप्रिल २५ मा श्रीलंकाविरुद्ध ३५ रनमै समेटिएको थियो। त्यसको करिब १६ वर्षपछि नेपालले पनि यही स्कोरमा अमेरिकालाई अलआउट गरेको थियो।

सन् २०२० फेब्रुअरी १२ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२ ओभरमै ३५ रनमा समेटेको थियो। नेपालको ऐतिहासिक बलिङ प्रदर्शनमा सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशन भारीले ४ विकेट हात पारेका थिए।

त्यस खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकी ब्याटिङ लाइनअपलाई ध्वस्त पारेका थिए। नेपालका लागि यो जित ओडीआई क्रिकेटकै स्मरणीय प्रदर्शनमध्ये एक बनेको छ।

ओडीआई इतिहासमा सबैभन्दा कम योगफलमा अलआउट भएका पाँच टोलीको सूचीमा जिम्बाब्वे र नेपालसँगै क्यानडा र पाकिस्तान पनि छन्।

ओडीआई इतिहासका सबैभन्दा कम पाँच योगफल

१. जिम्बाब्वे – ३५ रन (श्रीलंकाविरुद्ध, २५ अप्रिल २००४)

२. अमेरिका – ३५ रन (नेपालविरुद्ध, १२ फेब्रुअरी २०२०)

३. क्यानडा – ३६ रन (श्रीलंकाविरुद्ध, १९ फेब्रुअरी २००३)

४. जिम्बाब्वे – ३८ रन (श्रीलंकाविरुद्ध, ८ डिसेम्बर २००१)

५. पाकिस्तान – ४३ रन (वेस्ट इन्डिजविरुद्ध, २५ फेब्रुअरी १९९३)

यसरी विश्व क्रिकेटका स्थापित टोलीहरूको सूचीमा नेपालले पनि ऐतिहासिक उपलब्धि दर्ज गरेको छ। अमेरिकालाई ३५ रनमै समेटेको नेपालको त्यो प्रदर्शन आज पनि ओडीआई क्रिकेट इतिहासको दुर्लभ कीर्तिमानका रूपमा कायम छ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार ०९:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।