Logo

कोशी प्रदेश

गुराँसकै राजधानीमा २० हजार बोट गुराँस काटिंदै



गुराँसको राजधानी भनेर चिनिने प्रदेश १ को संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको संगमस्थल तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा २० हजार बोट गुराँस काटिने भएको छ । विद्युत विस्तारका क्रममा गुराँसका लागि प्रशिद्ध राजधानीमै गुराँसका रुख काटिने भएपछि स्थानीय चिन्तित बनेका छन् ।

स्थानीय बासिन्दाले यति धेरै रुख काटिंदा गुराँस राजधानीको अस्तित्व मेटिने भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले रुख काट्न नहुनेमा जोड दिंदै यस कार्यमा अवरोध गर्ने सम्मको चेतावनी दिएका छन् । टिएमजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्ने भनिएका सय वटा पर्यटकीय गन्तब्यहरु मध्ये एक हो ।

डिभिजन वन कार्यालय तेह्रथुमका डिभिजन प्रमुख सुनीलकुमार सिंहले भने गुराँसका रुखहरु काट्ने प्रक्रिया अघि बढिसकेको जनाए । राष्ट्रिय गौरवको कोसी करिडोर दुई सय २० केभीए विद्युत प्रशारण लाइन विस्तारको क्रममा गुराँसका रुख काट्नु पर्ने स्थिती आएको उनले बताए । सिंहका अनुसार टिएमजे क्षेत्रको मध्य भागबाट विद्युतको प्रसारण लाइन विस्तार गर्ने योजना छ ।

गुराँसका कारण स्थानीय स्तरको पर्यटन प्रवद्धनमा सहयोग पुगिरहेको अवस्थामा रुखहरु काट्न अनुपयुक्त हुने संखुवासभाको मुढेशनिश्चरेका स्थानीय बासिन्दा एवं नेकपा नेता ऋषिकेशव चापागाईले बताए । उनले रुखहरु काटिंदा टिएमजेको पर्यटकीय सौन्दर्यता र सम्भावना गुम्ने खतरा बढेको बताउँदै विद्युत विस्तारका लागि टिएमजे क्षेत्रको विकल्प खोजी गर्नु पर्नेमा जोड दिए । राज्यले संरक्षण र प्रवद्र्धनको सूचीमा राखेको यस क्षेत्रलाई करिडोरको कार्यले असर पु¥याउन नहुने चापागाईको भनाइ छ ।

लाईन विस्तारका क्रममा गुराँसै गुराँस भएको चैते, चित्रे, तीनजुरे–रातपोखरी, लिसाबोटे, मेन्छ्यायाम धाप, गौरी नागी र डांगी जोरी सामुदायिक वन क्षेत्रमा रुख कटान हुने जनाइएको छ । गुराँस पर्यटनको केन्द्रको मध्य भागबाट लाइन विस्तार हुँदा गुराँस मासिएर मुलुककै महत्वपूर्ण पर्यटकीय स्थल गुम्ने तेह्रथुमको लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताए ।

पहिचान र यस ठाँउको महत्वका बारेमा सम्बन्धीत पक्षले बुझ्नु पर्ने बताउँदै उनले भने, ‘यहाँको सौन्दर्य नै गुराँसका वनहरु हुन् । यति धेरै रुख काट्दा यहाँको अस्तित्व संकटमा पर्ने निश्चित छ ।’

२८ प्रजातिका गुराँस पाइने भएकाले यो क्षेत्रमा यस सिजनमा पर्यटकको घुइँचो लाग्छ । प्रत्येक वर्षको फागुनदेखि बैशाखसम्ममा स्वदेशी तथा विदेशी पर्यटकहरुले यो ठाउँ भरिभराउ हुने गरेको मेयर माबोहाङले बताए । ‘विद्युत विस्तारको काम पनि रोकिन हुँदैन,’ उनले भने, ‘गुराँसका रुखहरु पनि काटिन हुँदैन ।’ उनले विद्युत प्रशारण लाइन विस्तार गरिंदा गुराँसका रुखहरु मासिनबाट जोगाउनु पर्ने बताए ।

दुर्लभ प्रजातिका गुराँसका रुखहरु काटिए त्यसैमा टिकेको पर्यटन प्रभावित हुने चैते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष युकबहादुर बस्नेतले बताए । ‘गुराँस वन फँडानी भए गुराँस हेर्नकै लागि आउने पर्यटकहरुले के हेरेर जाने,?’ उनले प्रश्न गरे । ‘गुराँसले नै यहाँको पर्यटन व्यावसाय धानेको अवस्थामा रुख मासिंदा त्यो पनि चौपट हुन्छ,’ अध्यक्ष बस्नेतले भने, ‘ गुराँस बचाउन पनि कोसी करिडोर दुई सय २० केभीए विद्युत प्रशारण लाइन विस्तारका लागि यस ठाउँको विकल्प खोजिनु पर्छ ।’

गुराँसको घना जंगल भएर कोसी करिडोर प्रसारण लाइन विस्तारको तयारी भएकोले हजारौं गुराँसका रुखहरु मासिने अवस्था रहेको बस्नेतले बताए । उनले स्थानीय बासिन्दा यस ठाउँको विकल्प खोज्नु पर्नेमा लागिरहेको जानकारी दिए ।

डिभिजन वन कार्यालय तेह्रथुमका डिभिजन प्रमुख सिंहले भने करिडोरको कार्यले वन क्षेत्रमा क्षति हुने भए पनि राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध गर्न नहुने बताए । ‘कसरी कम रुख काट्न सकिन्छ त्यो बारे सोच्न सकिन्छ,’ उनले भने, ‘ट्रयाक नै परिवर्तन गर्ने र विकल्प नै खोज्ने चाँही अवस्था छैन ।’

ताप्लेजुङको तमोर र मेवा खोलामा उत्पादित विद्युत तेह्रथुम बसन्तपुरको टुटे शव–स्टेशन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत आयोजनाको शव–स्टेशनमा जोड्नका लागि कोसी करिडोर प्रशारण लाइन विस्तार भइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार १५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।