Logo

राजनीति

कांग्रेस पूर्वसभापति देउवाको प्रतिबद्धता : अब जीवनभर देशको सेवा गर्छु



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा हासिल गर्नुपर्ने सबै उपलब्धि प्राप्त गरिसकेको बताएका छन्। अब बाँकी जीवन देशको सेवा र लोकतन्त्रको सुदृढीकरणमा समर्पित गर्ने उनको भनाइ छ।

नेपाली कांग्रेसको देउवा पक्षले आयोजना गरेको नियमित १५औँ महाधिवेशनअन्तर्गत सोमबार दाङको भालुवाङमा आयोजित लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू पाँचपटक प्रधानमन्त्री भइसकेको उल्लेख गरे।

‘मैले पाउने सबै पाइसकेँ। पाँचपटक प्रधानमन्त्री भइसकेँ। त्योभन्दा पाउने के होरु अब मैले देशलाई दिने हो,’ उनले भने, ‘त्यसकारण मेरो जीवनपर्यन्त, बाँचुन्जेल देशको सेवा गर्ने हो। लोकतन्त्रको विकासका लागि लाग्ने हो।’

देउवाले कसैले खोस्न नसक्ने लोकतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। लोकतन्त्रका आधारभूत सिद्धान्त, मूल्य र मान्यतालाई कमजोर हुन नदिन सबैले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

लोकतन्त्रलाई थप सुदृढ र संस्थागत गर्दै यसको संरक्षणमा सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने उनले बताए।

सम्बोधनका क्रममा देउवाले जेन–जी आन्दोलनका बेला आफू जोगिएको प्रसंगसमेत उल्लेख गरेका थिए।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, डा। शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायतले सम्बोधन गरेका थिए।

अधिवेशनमा विभिन्न जिल्लाका नेताहरूले जिल्लाको राजनीतिक अवस्था, पार्टी संगठनको वर्तमान स्थिति तथा आगामी राजनीतिक रणनीतिबारे आ–आफ्ना धारणा राखेका थिए।

प्रदेश अधिवेशन समिति संयोजक गेहेन्द्र गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार २१:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।