Logo

स्वास्थ्य

कोरोनाको उपचारका लागि भारत सरकारद्वारा २ हजार थान रेमडेसिभर इन्जेक्सन प्रदान



कोरोनाको उपचारका लागि भारत सरकारले नेपाललाई २ हजार थान रेमडेसिभर इन्जेक्सन प्रदान गरेको छ। 

सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई उक्त रेमडेसिभर इन्जेक्सन् हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा श्रृंगलाले कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाललाइ सदैव सहयोग गर्ने बताए । विश्वका कतिपय देशहरुमा कोरोना भ्याक्सीनको परिक्षण भइरहेको भन्दै उनले भ्याक्सिन आम रुपमा उपलब्ध भए भारतले सवैभन्दा पहिले नेपाललाई प्रदान गर्ने उल्लेख गरे। उनले नेपाल र भारतको दुईपक्षीय सम्बन्ध सम्भयतासँग जोडिएको भन्दै थप प्रगाढ रुपमा सम्बन्ध अघि बढाउने जिकिर गरे।

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनालगाएत अन्य जस्तोसुकै चूनौतिलाई प्ररास्त गर्न पनि दुईदेश एक भएर अघि बढने बताए। नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने उनले बताए। त्यसअघि बिहीबार नै मन्त्री ज्ञवालीसंग सचिव श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ६ : ३३ बजे