Logo

प्रमुख समाचार

काभ्रेमा विप्लवका कार्यकर्तामाथि गोली प्रहार, नेता हेमन्तप्रकाश ओली भाग्न सफल



काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले उनिहरुको साथबाट ६ थान मोवाईल, चार्जर र सांस्कृतिक क्रान्तिको दस्तावेज बरामद गरेको छ ।

अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौर नेतृत्वको टोलीले विप्लवका कार्यकर्ता पक्राउ गर्न चार राउण्ड गोली चलाएको थियो । महाशाखाले पहिले विप्लवका कार्यकर्ताले फायर गरेको दाबी गर्दै प्रहरीका तर्फबाट जवाफी फायर गरिएको बताएको छ । तर, विप्लव समूहको तर्फबाट गोली चलेको पुष्टि हुन सकेको छैन ।

अपराध महाशाखाको टोली मंगलबार बिहान काठमाडौंमा समातिएका भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई साथै लिएर काभ्रे पुगेको थियो ।

पक्राउ परेका विप्लवका कार्यकर्ताले आफन्तहरुसँगको भेटमा प्रहरीले आफूहरुलाई पक्राउ गरेपछि अमानवीय ढंगले कुटपिट गरेको तर आफ्नो तर्फबाट गोली नचलेको बताएका छन् । काभ्रेका विप्लव समूहका एक नेताले रातोपाटीसँग कुरा गर्दै भने, ‘हाम्रो तर्फबाट फायर भएको भन्ने कुरा सरासर झुटो हो, बरु हाम्रा साथीहरुलाई अमानविय ढंगले कुटपिट गरिएको छ ।’

अपराध महाशाखाका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले एक विज्ञप्ती जारी गरेर पक्राउ परेकाहरु नख्खुस्थित एनसेल र बसुन्धारास्थित रोहन गुरुङको घरमा बम विष्फोट गराउने समूह भएको जानकारी दिएका छन् ।

विप्लव समूहका कार्यकर्ताले फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय र फागुन २४ गते बसुन्धारास्थित रोहन गुरुङको घरमा शक्तिशाली बम विष्फोट गराएका थिए ।

नजिकै थिए हेमन्त ओली

विप्लव समुहको मध्यकमाण्ड इन्चार्ज समेत रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ मंगलबार साँझ आफ्ना कार्यकर्ता पक्राउ परेको स्थान नजिकै थिए । काफलडाँडाबाट एक किलोमिटरको दुरीमा रहेका हेमन्त ओली भाग्न सफल भएको बताईएको छ ।

विप्लवका कार्यकर्ताले मध्यकमाण्ड इन्चार्ज ओलीको मोबाइल प्रहरीले बरामद गरेको दाबी गरेका छन्, तर प्रहरीले ओलीको मोवाइल बरामद गरेको कुरा आधिकारीक रुपमा पुष्टि गरेको छैन ।

मंगलबार शिव धिमाल र विशाल तामाङ पक्राउ गरेसँगै विप्लव समुहको मध्ये कमाण्डमा ठूलै धक्का लागेको छ । यसअघि प्रहरीले बम विष्फोट गरेको आशंकामा केदार खतिवडा, सूर्य भुजेल, किसान महासंघका संयोजक राजु कार्की र पोलिटब्यूरो सदस्य मोहन कार्कीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

पछिल्लो समय पक्राउ परेका पोलिटब्यूरो सदस्य कार्कीसहितको समूह मध्येकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’को कोर टीमका सदस्यहरु हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार ०७:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।