नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् ।
नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भड्खालोमा जाकिने चेतावनी पनि दिए ।
उनले नेताहरुलाई पार्टीलाई भड्खालोमा हाल्ने र नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गरे । थापालेशुक्रबार गिरिजा प्रसाद कोइराला फाउन्डेशनले काठमाण्डौको गौसल्ला स्थित श्रीखण्ड फुडल्यान्डमा आयोजना गरेको कार्यक्रममा गिरिजा प्रसाद कोइरालाले लिनुभएको सहमति, सहकार्य र एकताको सुत्रलाई आत्मसात गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
कार्यक्रममा बोल्दै अर्का काग्रेस नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
नेता कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे । उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेल्नुभएको असाधारण भूमिकाको पनि चर्चा गरेका थिए।




















प्रतिक्रिया