Logo

प्रमुख समाचार

आफुले पद नपाएपछि भीम रावल दुष्प्रचारमा लागे : सांसद आले



नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री समेत भईसकेका भीमबहादुर रावलले आफूले मन्त्री र पार्टीमा खोजेजस्तो पद नपाएपछि सरकारले गरेका हरेक राम्रा कामको विरोध गर्दै हिडेको सुदूरपश्चिमकै नेकपाका नेताहरुले खुल्लमखुल्ला रुपमा बताउँदै आएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी ओलीनिकट केन्द्रीय सदस्य एवं डोटीबाट लगातार दोस्रोपटक निर्वाचित सांसद प्रेमबहादुर आलेले रावलले सरकारले हालसम्म गरेका राम्रा र महत्वपूर्ण कामहरुको विरोध गरेर पदमा बार्गेनिङ गर्न खोजेको प्रतिक्रिया दिएका छन् ।

पार्टी एकीकरण अघिसम्म उपाध्यक्ष रहेका रावलले एकीकरणपछि ९ जनाको सचिवालयमा नपरेपछि त्यतिबेला देखि नै हरेक काममा निरन्तर विरोध गरिरहेको आलेले बताए ।

सरकारले तराईलाई नेपालबाट अलग राज्य बनाउने पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतलाई नेपाली राजनीतिको मूलधारामा ल्याएको उपलब्धिलाई समेत अनेक तानाबना बुनेर विरोध गरिरहेको उनको बुझाई छ । आलेले भने, ‘देश बिखण्डनको अभियान चलाएको सीके राउतलाई राजनीतिको मूलधारमा ल्याउने काममा पनि भीम रावलको विरोध किन हो हामीले बुझ्न सकेका छैनौं । ’

सुदूरपश्चिमबाट पार्टीको नाम भजाएर हालसम्म पटक पटक आकर्षक मन्त्रालय र पार्टीको माथिल्लो पदमा रहेका उनी पछिल्लो समय पार्टीमा हैसियत नभएपछि आफ्नै पार्टीको नेतृत्वविरुद्ध नकारात्मक प्रचारमा लागेको आलेले आरोप लगाए ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेर मन्त्री भए पनि रावलले विकास निर्माणका उल्लेखनीय केही काम गर्न नसककेको नेकपाका नेताहरु बताउँछन् । मन्त्री भएका बेला कार्यकर्ताको सिन्को भाच्ने कामसम्म नगर्ने, आफूमात्रै सर्बेसर्बा प्रवृत्ति रावलमा रहेको आलले बताए ।

पार्टी एकीकरण र निर्वाचनमा बहुमत प्राप्त गर्नमा अध्यक्ष ओलीको ठूलो योगदान रहेको आलले उल्लेख गरे । ओलीजस्तो स्पष्ट भिजन र मिसन भएका राष्ट्रवादी नेतामाथि प्रहार गरेर भीम रावलले आफूलाई प्रखर राष्ट्रवादीको पगरी भिर्नु उचित नभएको आलेको ठहर छ ।

सांसद आलेले रावलसहित नेकपाका केही नेताहरुले प्रधानमन्त्री ओलीलाई सुदूरपश्चिम प्रदेशका केही कार्यक्रममा सहभागी हुनबाट रोक्ने प्रयास गरेको आरोपसमेत लगाए ।

फागुन ७ गते प्रजातन्त्र दिवसको दिन डोटीको बीपी नगरमा सहजपुर–बीपीनगर हुँदै बागछेडासम्मको सडकको शिलन्यास गर्ने कार्यक्रममा प्रधानमन्त्रीलाई सहभागी हुनबाट रोक्न खोज्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए । यसअघि २०४३ सालमा जिल्ला पञ्चायतको सदस्य हुँदा भरतबहादुर खड्काले सो सडकको शिलन्यास गरिसकेकाले दोहर्याएर शिलन्यास हुन्न भन्ने रावल पक्षको दावी थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा दृढ रहेको र सोही अनुसार सरकारका काम पनि अघि बढिरहेका आलेले बताए छन् । आलेले आफ्नो विशेष पहलमा प्रधानमन्त्री ओलीले डोटीमा ३५० करोड बजेट बिनियोजन गरिदिएको बताए ।

समग्र सुदूरश्चिमकै विकासवादी युवा नेताका रुपमा चिनिएका आले हक्की स्वभावका नेतामा गनिन्छन् । उनले डोटीको खुटिया दिपायल बझाङ चैनपुर हुँदै कैलाश मानसरोवरसम्म जाने द्रुतमार्गको कामसमेत अगाडि बढेको आलेले बताए । बजेटमा परेर रातो किताबमा परेको भए पनि काम सुरु हुन नससकेको यस सडकका लागि अर्थ मन्त्रालयमा पेस गरेको र अबको केही समयपछि नै यसको ठेक्का आह्वान हुने उनले जानकारी दिए ।

संसदको सार्वजनिक लेखा समितिका सदस्य रहेका आले वाइडबडीको भ्रष्टाचारबारे प्रतिवेदन दिन गठन भएको उपसमितिको सदस्य थिए । आफूसहितको उपसमितिले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेकाले यसमा संलग्न सबै कुराको पर्दाफास हुने उनले बताए ।

डोटीबाट लगातार दोस्रोपटक निर्वाचित हुन सफल आलेले आफूलाई सुदूरपश्चिम क्षेत्रकै विकासवादी नेताका छवि बनाउँदै लगेका छन् । जिल्लाको हरेक विकास निर्माणदेखि पार्टी र कार्यकर्ताका काममा आफू अहोरात्र खटिएकै कारण जिल्लामा अत्यन्तै न्यून संख्यामा बसबास रहेको जातिबाट पनि आफू निर्वाचित हुन सफल भएको उनले बताए ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका सुदूरपश्चिमका चर्चित युवा नेता तथा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाई समेत पराजित गरेर चर्चाको शिखरमा आएका आले पछिल्लो समय प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिन्छन् ।

प्रकाशित मिति : चैत्र ११, २०७५ सोमबार  ९ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।