Logo

प्रमुख समाचार

कांग्रेसमा ध्रुविकरण : देउवा भर्सेज कोइराला, पौडेलले के गर्लान?



नेपाली कांग्रेसबाटै प्रधानमन्त्री बनेका शेरबहादुर देउवा प्रधानमन्त्री रहँदै तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिदिए। देउवाले त्यतिबेला आफ्नो राजनीति सुरक्षित गर्नका लागि पार्टी विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक )स्थापना गरी पार्टी सभापति बने।

विपी कोइराला पछि राजाबाट अपदस्थ हुनेमा दोस्रो प्रधानमन्त्री बन्न पुगेका देउवा गिरिजाप्रसाद कोइरालाको दबाबकै कारण राजा ज्ञानेन्द्रको प्रतिगमन विरुद्ध एक्लै आफ्ना कार्यकर्ता लिएर सडक आन्दोलनमा होमिन बाध्य समेत भए । अन्ततः विभाजित कांग्रेस एक हुन पुग्यो ।

पार्टी एक हुँदा वरिष्ठ नेताको हैसियत पाएका देउवा यतिबेला कांग्रेस पार्टीको सभापतिमा निर्वाचित बनेर आफ्नो कार्यकालको उत्तरार्धतिर छन् । यद्यपी गिरिजाप्रसाद कोइरालादेखि सुशिल जीवित रहँदा भने पार्टी सभापति बन्नका लागि कोइराला परिवारका सदस्यहरु उनका लागि बाधक बन्न पुगे ।

कोइराला परिवारको पहिलो पुस्ताका नेताको अन्त्यसँगै देउवा कांग्रेस पार्टीको सभापति बन्न पुगे। त्यतिमात्र नभई ०६२/६३ को जनआन्दोलन पछि चौथो पटक नेपालको प्रधानमन्त्री बन्ने सौभाग्य समेत पाए। यद्यपी पार्टीको १३ औं महाधिवेशनमा देउवा सभापति उठ्दै गर्दा आफ्नो प्यानलबाट कोइराला परिवारका सदस्यलाई महामन्त्री तथा केन्द्रीय सदस्यमा उठाउन नसकेपनि भित्रि रुपमा त्यति धेरै असहयोग भएको देखिएको थिएन।त्यतिमात्र होइन महाधिवेशन पछिको लामो समय सभापति देउवा र महामन्त्री बीचको सम्बन्धमा खासै दरार उत्पन्न भएको नदेखिएको हुँदा राम्रै मानिएको थियो ।

तर सभापति देउवा र कोइराला परिवारका सदस्यहरुबीच पछिल्लो समय पार्टीको आन्तरिक राजनीतिमा राम्रै हिसाबले घोचपेच हुन थालेको छ । यो क्रममा कोइराला परिवारका सदस्यहरु महामन्त्री डा. शंशाक कोइराला र केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइरालाले पार्टी सभापति देउवाको कार्य क्षमता माथि औंला उठाउन थालेका छन् ।

औंला उठाउने क्रममा अघिल्लो बर्ष भएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले भोग्नु परेको हारको मुख्य कारण सभापति देउवा नै भएको कोइराला परिवारका सदस्यहरुको जिकिर रहेको छ। त्यसमा पनि सभापति देउवा प्रति केन्द्रीय सदस्य शेखर कोइराला निकै आक्रामक ढंगले प्रस्तुत हुन थालेका छन्। कोइराला परिवारका सदस्यहरु पार्टी सभापति देउवा प्रति यतिबेला किन आक्रमक ढंगले प्रस्तुत हुन थालेका छन् त भनि कांग्रेस वृतमा निकै चर्चा भईरहेको छ । यसको एउटै प्रमुख कारण हो पार्टीको १४ औं महाधिवेशनको बाछिटा ।

कोइराला परिवारका सदस्यहरु त्यसमा पनि शेखर कोइराला कुनै पनि हालतमा पार्टीको नेतृत्व कोइराला परिवार भित्र ल्याउनु पर्छ भन्ने मान्यतामा रहेका छन् । सोही मान्यता अनुरुप कोइराला परिवारका सदस्यहरु एकताको सन्देश दिनका लागि एउटै माला पहिरिने देखि लञ्च पछि सामूहिक रुपमा तस्बिर खिचेर सार्वजनिक समेत गरिरहेका छन् ।

एउटै माला पहिरिनु र सामूहिक तस्बिर सार्वजनिक गर्नु कोइराला परिवारको व्यक्तिगत विषय हो । तर यस किसिमको गतिविधी गर्दे गर्दा कोइराला परिवारका सदस्य सभापतिप्रति आक्रमक रुपमा प्रस्तुत भईरहेको विषय सभापति देउवालाई स्वीकार्य देखिएको छैन।

यसैक्रममा सभापति देउवा पनि कोइराला परिवार प्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका छन्। यसरी आक्रामक रुपमा प्रस्तुत हुने क्रममा सभापति देउवाले नेपाली कांग्रेस पार्टी कोइरालाको परिवारको वपौती नभएको समेत बताए। नेपाली कांग्रेस पार्टीमा सुवर्ण शम्सेर,गणेशमान सिंह ,कृष्णप्रसाद भट्टराईदेखि हजारौं नेता तथा कार्यकर्ताको योगदान रहेको देउवाले बताए ।

सभापति देउवाले कांग्रेस निर्माणमा कोइराला परिवारका अन्य नेताहरुको योगदानको स्मरण गराउँदा शेखरको हैसियत माथि पनि प्रश्न समेत गरे । कांग्रेस पार्टीको १४ औं महाधिवेशनको चर्चा शुरु हुन लाग्दै गर्दा सभापति देउवा र कोइराला परिवार बीच शुरु भएको यो द्धन्दले कांग्रेस पार्टी भित्र ठूलै तरङ उत्पन्न हुने निश्चित छ ।

देउवा र पौडेलको जोडिएला त घाँटी ?

कांग्रेसको आन्तरिक राजनीतिमा यतिबेला सभापति देउवा र वरिष्ठ नेता पौडेलले फरक खेमाको नेतृत्व गर्छन्। वरिष्ठ नेता पौडेल र कोइराला परिवार एउटै कित्तामा रहेका छन् । तर उनीहरु बीचको सम्बन्ध पनि त्यति सुमधुर रहेको छैन।

पार्टीको १४ औं महाधिवेशनमा कोइराला परिवारका सदस्य पौडेललाई सभापतिको उम्मेदवार मान्ने पक्षमा नदेखिएको संकेत देखिन थालेको छ। यस्तो अवस्थामा पछिल्लो घटनाक्रमले सभापति देउवा र वरिष्ठ नेता पौडेल घाँटी जोडिएला त भन्ने अनुमान पनि शुरु भएको छ।यो नयाँ विषयले कांग्रेसको नयाँ समिकरण बन्ने वा भएको समिकरण विग्रने नयाँ अवस्था बन्ने छ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलवार ०६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।